close

स्थानीय तहमा कानुन नबन्दा बजार अनुगमनमा समस्या

स्थानीय तहमा कानुन नबन्दा बजार अनुगमनमा समस्या

Trulli
ADVERTISEMENT

उपभोक्ता हितमा क्रियाशील विभिन्न संघसंस्थाले स्थानीय तहमा कानुन नबन्दासम्म बजार अनुगमन प्रभावकारी नहुने बताएका छन् ।

 नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको सेजन अर्थनीति बहसअन्तर्गत उपभोक्ता अधिकारसम्बन्धी कार्यक्रममा सहभागीले स्थानीय स्तरमा कानुन बनाउन ढिलाइ हुँदा उपभोक्ताको अधिकार संरक्षित हुन नसकेको बताएका हुन् ।


छलफलमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले केन्द्र सरकारले स्थानीय तहमा उपभोक्ता हितसम्बन्धी कानुन निर्माणमा पहल नगर्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको देखिएको बताए ।


सन् १९३२ मा बेलायतमा सर्वसाधारणले बियर उपभोग गर्दाको समय देखा परेको समस्यालाई लिएर सुरु भएको उपभोक्ता हित र अधिकार संरक्षणको कानुनी व्यवस्था हालका दिनमा झन् बढ्दै गएको बानियाँको भनाइ छ । 


नेपालमा यस किसिमको कानुनी व्यवस्था सशक्त भइनसके पनि यसका लागि जग बनेको र उपभोक्ता अधिकारसम्बन्धी बहस सुरु भइसकेको उनले जानकारी दिए ।


सन् १९८५ मा संयुक्त राष्ट्रसंघले उपभोक्ता हित र अधिकारसम्बन्धी प्रोटोकल जारी गरेपछि नेपालमा पनि विसं ०५४ र ०७५ मा उपभोक्ता ऐन बनेको उल्लेख गर्दै हाल संविधानले नै उपभोक्ता अधिकारलाई मौलिक हकका रुपमा स्थापित गरेको बानियाँले बताए ।


‘संविधानको मर्मअनुरूप स्थानीय तहमा आवश्यक कानुन बन्न नसक्दा उपभोक्ताको अधिकार अझै सुनिश्चित हुन सकेको छैन’, बानियाँले भने । नगरपालिका मेयर, उपमेयरलगायतका माथिल्लो ओहोदाका व्यक्तिले बजार चहार्दैमा अनुगमन प्रभावकारी नहुने उनको दाबी थियो । 


संविधानले प्रत्येक वस्तु र सेवाको गुणस्तरको मानक तोक्न भनेको उल्लेख गर्दै अब राज्यले गुणस्तरको मानक घोषणा गर्नुपर्नेमा उनले जोड दिए । संविधानले क्षतिपूर्तिको हक पनि सुरक्षित गरे पनि सरकारले तदारुकता नदेखाउँदा उपभोक्ता हित ओझेल पर्दै गएको उनको भनाइ थियो ।


स्थानीय बजार व्यवस्थापन ऐन जारी गर्न नसक्नु नै मुख्य समस्याको जड रहेको उनको तर्क छ । बानियाँका अनुसार हालसम्म दमक, कलैया, भीमेश्वर, वालिङ, तानसेन, वीरेन्द्रनगर र टीकापुर गरी जम्मा ७ वटा स्थानीय सरकारले मात्र उपभोक्ता कानुन घोषणा गरेका छन् । 


यसअन्तर्गत उपमेयर अध्यक्षताको समितिले बजार अनुगमन गर्ने, बजार व्यवस्थापन गर्ने, बजार व्यवस्थापनका लागि आवश्यक बजेट प्रत्यायोजनदेखि बजार सर्वेक्षणलगायतका काम हुने गरेका छन् । यी सात नगरपालिकाले १५ लाखदेखि ५० लाखसम्मको बजेट व्यवस्थापनमार्फत काम अघि बढाएको बानियाँले बताए ।