close

सुदूरपश्चिममा बढ्यो महिला हिंसा 

सुदूरपश्चिममा बढ्यो महिला हिंसा 

Trulli
ADVERTISEMENT

सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणी, घरेलु हिंसा र आत्महत्याका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको लकडाउन अवधिमा विशेष गरी प्रदेशमा जबरजस्ती करणी र बलात्कारका घटनामा बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

गत चैत महिनायता हालसम्म  प्रदेशका नौ वटै जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी १ सय ५० वटा मुद्दा प्रहरीमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार गत चैत महिनामा कैलालीमा ६, कञ्चनपुरमा ३, बाजुरा र बझाङ्गमा दुई÷दुई र बैतडीमा एक गरी जबरजस्ती करणीका १४ वटा मुद्दा दर्ता भएका छन् ।  चैतमा जबरजस्ती करणी तर्फ कैलाली र कञ्चनपुरमा दुई÷दुई वटा गरी चार वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय जबरजस्ती करणीका मुद्दाहरु पनि बढ्दै गएको देखिएको छ । त्यसैगरी गत बैशाखमा कैलालीमा ८, कञ्चनपुरमा ३ र डोटी, अछाम, बाजुरा र दार्चुलामा एक÷एक गरी जबरजस्ती करणीका घटना प्रहरी कार्यालयमा दर्ता भएका बताइएको छ । 

यस्तै गत जेठमा यहाँ जवरजस्ती करणीमा २३ र जवरजस्ती करणी उद्योगमा ५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । गत असारमा भने मुद्दा बढेर जबरजस्ती करणीमा २५ र उद्योगमा १२ वटा मुद्दा गरी ३७ वटा मुद्दा यहाँका जिल्ला प्रहरी कार्यालयहरुमा दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कैलालीमा दुवै मुद्दा गरी २१ वटा दर्ता भएका छन् ।

गत साउनमा पनि  जबरजस्ती करणी सम्बन्धी मुद्दा ३२ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

साउनमा जबरजस्ती करणीमा २१ र सो सम्बन्धी उद्योगमा ११ वटा मुद्दा दर्ता भएका छन् । यही भदौ महिनामा पनि जबरस्ती करणी सम्बन्धी १५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बन्दाबन्दीमा जबरजस्ती करणी र उद्योगमा घटना विगतजस्तैको अवस्थामा रहेको जानकारी दिए ।  ‘विगतको तथ्यांक हेर्ने हो भनेपनि केही तलमाथि बाहेक समान नै छ ।’ उनले भने–बन्दाबन्दी भएर यसप्रकारका मुद्दा बढे भनिहाल्नुपर्ने अवस्था छैन् ।

उनले उक्त घटनाहरुमा अभियुक्तहरु कानुनी कारबाहीको दाउरामा रहेको जानकारी दिए । ‘अपराधमा संलग्नहरु यी मुद्दामा कोही पनि फरार रहेको अवस्था छैन ।’ उनले भने, ‘कोरोना कहरको जोखिमका बीच पनि प्रहरी गाउँबस्ती दुरदराजसम्म पुगेर सुरक्षाको आभाष दिलाइरहेकै छ ।’

यसैगरी माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले लकडाउन अवधीमा महिला हिंसाका घटनाहरु बढेको बताए । ‘सबै जना बेरोजगार भए, गुजारा चलाउन पनि गाह्रो हुने स्थित भएकाले हिंसा बढ्ने अवस्था छ ।’ उनले भनिन्, ‘अपराध नियन्त्रण गर्न कारवाही पक्ष बलियो हुनुपर्छ ।’ 

उनले माइती नेपालमा पनि जबरजस्ती करणी उद्योगका मुद्दाका साथै महिला हिंसाका घटनाहरु लिएर पीडितहरु उजुरी लिएर आइरहेको जानकारी दिइन् । ‘बन्दाबन्दीमा मानव बेचबिखन गर्ने दलालहरुको गिरोह पनि सक्रिय छ ।’ भारत आवत जावत सुचारु हुन दिदा विभिन्न चलाखी गरेर सीमा कटाउने प्रयास हुदैछ । नेपालीहरुको नक्कली भारतीय परिचयपत्र ल्याएर सीमा कटाउने काम भइरहेको छ ।

आत्महत्या  बढ्दो 

प्रदेशमा आत्महत्या गर्नेहरुको सङख्या पनि बर्षेनी बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७६ र ०७७ मा प्रदेशमा ५ सय ५१ जनाले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको बढी हो ।

प्रदेश प्रहरीको तथ्याङ्कले हरेक वर्ष यहाँ आत्महत्या गर्नेहरुको सङ्ख्या वृद्धि हुदै गइरहेको देखाएको छ । ‘आत्महत्याको दर पनि विगत बर्ष र अहिलेको अवस्थामा समान जस्तै छ ।’ प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भने, ‘सङ्ख्यामा वृद्धि भएपनि धेरै अन्तर भने छैन ।’ सिंहले लकडाउनयता सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी ३०६ जनाले आत्महत्या गरेको जानकारी दिए ।

बितेको झन्डै ६ महिनाको अवधिमा सबैभन्दा बढी कैलालीमा ११० जनाले आत्महत्या गरेका छन् । गत चैत ११ गतेयता आर्थिक मसान्तसम्म कैलालमिा ८१, कञ्चनपुरमा ६८, डोटीमा १५, अछाममा १४, बैतडीमा १२, दार्चुलामा १०, डडेल्धुरा र बझाङ्गमा ९÷९ र बाजुरामा ६ जनाले गरी २२४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रदेशमा आर्थिक वर्ष २०७२-०७३ मा ४५६, २०७३-०७४ मा ४३६, ०७४-०६ं७५ मा ४७०, २०७५-०७६ मा ४७५ र गत आर्थिक बर्षमा ५५१ जनाले आत्महत्या गरेको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए ।

चार बर्षयताको तथ्याङ्क हेर्दा सबैभन्दा बढी झुण्डिएर र त्यसपछि विष सेवन गरेर मर्नेको संख्या धेरै छ । त्यसैगरी पानीमा हाम फालेर, हातहतियार प्रयोग गरेर र विष्पोटक पदार्थ प्रयोग गरेर पनि सुदूरपश्चिममा आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । प्रदेशमा आर्थिक वर्ष २०७२ र ०७३ देखि ०७६ र ०७७ सम्म दुई हजार तीन सय ८८ जनाले आत्महत्या गरेका छन् । ती मध्ये बालिबालिकाले समेत रहेका जनाइएको छ । 

प्रहरीले कतिपय आत्महत्या घरेलु हिंसा र पारिवारिक कलहका कारण पनि भइरहेको विश्लेषण गरेको छ । महेन्द्रनगरस्थित अधिवक्ता पुनम चन्दले घरेलु हिंसा, आत्महत्या र जबरजस्ती करणीका मुद्दाहरू बढिरेहको बताए । ‘कतिपय घटनाहरु गाउँघरमै मिलापत्र गरेर लुकाइएको पनि देखिन्छ ।’ उनले भने ।