close

६ सय ४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

६ सय ४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

Trulli
ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहलाई पाँच शैयाका अस्पताल बनाउन निर्देशन दिएको छ । 
सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।


कोरोना संक्रमितका बिरामी राख्न शैयाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । पाँच शैयाका दरले ती स्थानीय तहमा ३ हजार २ सय ४५ शैयाका अस्पताल बन्नेछन् ।


अहिले नेपालमा ४९ हजार १ सय ३८ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । यस्तै,करिब ३२ हजार ९ सय ६४ निको र ३ सय ६ जनाको संक्रमणबाट मृत्यु भएको छ । 


गत भदौ १३ को मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच शैयाको अस्पताल बनाउने निर्णय गरेका थिए ।


अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले नै गर्नेछन् ।ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् । 


मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । मन्त्रालयले प्रतिशैया दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ । अस्पतालका लागि तीन महिनाको शैयाका निम्ति पाँच लाख, औषधी ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि ४ लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको छ ।


ती स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुयायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचारको व्यवस्थापन गर्न अस्पताल निर्माण गर्न भनिएको हो ।