close

प्रदेश राजधानीमा सडकका ३६ योजना निर्माणाधीन

प्रदेश राजधानीमा सडकका ३६ योजना निर्माणाधीन

Trulli
ADVERTISEMENT

गत आर्थिक वर्षमा १ हजार ८ सय २० मिटर सडक मात्रै कालोपत्रे गरेर आलोचना बेहोरेको कर्णली प्रदेश सरकारले यस वर्ष प्रदेश राजधानीका सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको छ ।


भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत वीरेन्द्रनगरमा सडकका ३६ योजना कार्यान्वयनमा छन् । निर्देशनालयका इन्जिनियर सूर्य शाहीले ती सडक योजनाहरू प्रदेश राजधानी सहरी सडक, जनता सडक र समपूरक प्याकेजअन्तर्गत निर्माण भइरहेको बताए ।

सडक निर्माणका लागि गत आर्थिक वर्ष पुस, माघ र जेठमा सम्झौता भए पनि कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण निर्माण रोकिएको थियो ।


प्रदेश सरकारले निर्माण आयोजनालाई ‘विशेष पास’ उपलब्ध गराएपछि ती सबै आयोजना जेठबाट सञ्चालनमा ल्याइएको हो ।  इन्जिनियर शाहीका अनुसार ३७ करोड ८५ लाख लागतमा निर्माणाधीन सडक योजना चालू आवमै सम्पन्न गर्ने लक्ष्य छ ।


‘लकडाउन खुकुलो भएसँगै आउँदो असार मसान्तभित्रै काम सक्ने गरी निर्माण व्यवसायीलाई ताकेता गरिएको छ’, उनले भने, ‘लकडाउनको सुरुआती चरणमा तीन महिना काम प्रभावित हुन पुग्यो । अहिले सबै आयोजनामा धमाधम काम भइरहेको छ ।’


हाल सडक विस्तार गरी नाली निर्माण र ग्राभेलको काम भइरहेको छ । निर्माणाधीनमध्ये ६० प्रतिशत सडक कालोपत्रे गर्ने र बाँकी सडकको स्तरोन्नति गर्ने लक्ष्य रहेको बताइएको छ । यस वर्ष प्रदेश सरकारले सुर्खेत उपत्यकामा २५ किमि कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।