close

लुम्बिनी प्रदेशसभा: नवौँ अधिवेशनको पहिलो बैठक ६ मिनेटमै स्थगित

लुम्बिनी प्रदेशसभा: नवौँ अधिवेशनको पहिलो बैठक ६ मिनेटमै स्थगित

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशसभामा मंगलबारदेखि सुरु नवौँ अधिवेशनको पहिलो बैठक ६ मिनेट बसेर स्थगित भएको छ । प्रतिपक्षी नेकपा एमालेको अवरोध भए पनि २ वटा कार्यसूचीमाथि कारबाही गर्दै बैठक स्थगित भएको हो ।


बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्ना २ सांसदलाई कारबाहीका लागि पठाएको पत्रमाथि सभामुखले कारबाही अघि नबढाएसम्म बैठक चल्नन दिने बताएका थिए । 


विपक्षी दलले विरोधस्वरूप आफ्नो ठाउँबाट उठेर टेबल ठटाउँदै विरोध जनाए पनि सभामुखले प्रदेशप्रमुखले नवौँ अधिवेशनका लागि आह्वान गरेको पत्र पढेर सुनाएका थिए ।


प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित मन्त्रीहरूको नाम पढेर सुनाएका थिए । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । 


निर्धारित समयभन्दा करिब पौने २ घन्टा ढिला गरी सुरु भएको बैठकमा विपक्षी दलले अवरोध जनाएपछि अन्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । 

 

आफ्ना दुई सांसदलाई कारबाही गर्न एमालेको पत्राचार

लुम्बिनी प्रदेशका बिनाविभागीय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीलाई पदमुक्त गर्न नेकपा एमालेले प्रदेशसभा सचिवालयमा पत्राचार गरेको छ । यो विषयमा सभामुखले आवश्यक कारबाही नगरेको भन्दै एमालेले संसद् बैठक अवरुद्ध गरेको हो ।


प्रदेशसभामा एमालेका मुख्य सचेतक भूमिश्वर ढकालले एमालेको सूर्य चिह्न लिएर निर्वाचित शाही र ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई मंगलबार बिहान पत्राचार गरेका थिए । सचिवालयले उनीहरूलाई पदमुक्त गर्ने पत्रचारको विषयमा निर्णय गर्न नसक्दा बैठक स्थागित गर्नुपरेको हो ।


विगतमा सांसदहरूको राजीनामा तथा कारबाही गर्ने क्रममा सभामुखले देखाएको व्यवहार र अहिले एमालले सांसदहरूलाई कारबाहीका लागि दिएको पत्रप्रति गर्ने व्यवहार फरक भएपछि अवरोध गर्नुपरेको पूर्वमन्त्री तथा एमाले नेता भोजप्रसाद श्रेष्ठले बताए । 


शाही २०७४ मा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिह्न लिएर निर्वाचित भएका थिए । ओली एमाले नेता उत्तरकुमार ओलीको निधनपछि २०७६ मा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् ।