close

लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्रालयले पाएन मन्त्री

दलीय भागबन्डा नमिल्दा ३–३ जना बनाइयो बिनाविभागीय मन्त्री 

लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्रालयले पाएन मन्त्री

दलीय भागबन्डा नमिल्दा ३–३ जना बनाइयो बिनाविभागीय मन्त्री 

Trulli
ADVERTISEMENT

रूपन्देही- कोरोना महामारीको तेस्रो संक्रमण बढ्दै गएको लुम्बिनीमा स्वास्थ्य मन्त्रालय हाँक्ने नेतृत्व भने खाली छ । २८ साउनमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित ७ जना मन्त्री बने पनि यो मन्त्रालयले मन्त्री पाउन नसकेको हो । दलीग भागबन्डा नमिल्दा तीन जना बिनाविभागीय मन्त्री बनेर बसेका छन् । लुम्बिनी प्रदेशमा कोरोना महामारीको संक्रमण बढ्दो छ । तर, यसलाई नियन्त्रणका लागि तालुकदार निकाय लुम्बिनी प्रदेशको विभागीय मन्त्रालयमा सरकारले विभागीग मन्त्री दिन सकेको छैन । 


महामारी समयमा स्वास्थ्य मन्त्रालयलाई बेवास्ता गरिएको छ । ३ जना मन्त्री बिनाविभागीय बनाएर राखिए पनि गठबन्धन दलमा भागबन्डा नमिलेका कारण मन्त्रालयले अभिभावक पाउन नसकेको हो ।


६ जना मन्त्री नियुक्त हुँदा पनि अझै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएको छैन । २७ साउनमा शंकर पोखरेलले राजीनामा दिएपछि केसी लुम्बिनीको मुख्यमन्त्री भएका छन् । मुख्यमन्त्री भएसँगै केसीले ३ जनालाई विभागीय र ३ जनालाई बिनाविभागीय गरी ६ जनालाई मन्त्री बनाए पनि स्वास्थ्य मन्त्रालय कसको भागमा पर्ने भन्ने टुंगो नलागेको हो ।


लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कर्मचारी कोभिडका बेला स्वास्थ्यमन्त्री छिटो नियुक्त गर्न आवश्यक रहेको बताउँछन् । ‘मन्त्रिपरिषद्मा प्रस्ताव लैजान, नीतिगत निर्णय गर्न मन्त्री चाहिन्छ । अझ कोभिडका बेला विभागीय मन्त्री अति आवश्यक छ । धेरै दिन मन्त्रालयमा मन्त्री नहुँदा समस्या आउन सक्छ ।’ 


नयाँ सरकार बनेपछि सरकारले क्यान्सरपीडित, मिर्गौलापीडितलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन गरेर निर्देशनालयमा पठाउन मन्त्री चाहिन्छ । अहिले मन्त्रालय सम्हालेका मुख्यमन्त्रीले नै मन्त्रीको भूमिकामा निर्णय गर्न सक्छन् । तर, कार्य व्यस्तताले मन्त्रीलाई जस्तो मुख्यमन्त्रीलाई सहज हुँदैन । 


३ वर्षसम्म सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्र हेरे पनि गत वैशाखमा जसपाका ४ जनालाई मन्त्री बनाउन तत्कालीन मुख्यमन्त्री पोखरेलले मन्त्रालय विभाजन गरेका थिए । सामाजिक विकास मन्त्रालयलाई विभाजन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको थियो । प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले अब छिट्टै स्वास्थ्य मन्त्रालयले विभागीय मन्त्री पाउने दाबी गरे ।


‘गठबन्धनको बीचमा मन्त्रालयको बाँडफाँट र कार्य विभाजन गर्न केही समय लागेको हो । दुई–तीनभित्र स्वास्थ्यसहित सबै मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोकिन्छ,’ खड्काले भने, ‘यो विषयमा सरकार गम्भीर छ । स्वास्थ्य मन्त्रालयले छिट्टै विभागीय मन्त्री पाउँछ ।’ सरकारले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने भनिए पनि विपक्षीले अवरोध गरेका कारण त्यो समय पनि धकेलिने भएको छ ।