close

परिणाम देखिने गरी काम गर्छौं : मुख्यमन्त्री केसी

परिणाम देखिने गरी काम गर्छौं : मुख्यमन्त्री केसी

Trulli
ADVERTISEMENT

बाँके– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गरेर जनताको आकाङ्क्षा पूरा गर्ने बताएका छन् । 

 

    
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर सरकारले परिणाम दिने गरी काम गर्ने बताएका हुन् । उनले भने, ‘बजेट खर्चका नाममा खर्च मात्र होइन, बजेटबाट परिणाम देखिने गरी सरकारले काम आगाडि बढाएको छ ।’

 

मुख्यमन्त्री केसीले प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले जनताको आवश्यकताका आधारमा बजेट बनाएको उल्लेख गर्दै सरकारले विपद्बाट क्षति पुर्‍याएका किसानलाई क्षतिपूर्ति दिने र बाढीपहिराबाट प्रभावित जनतालाई राहत दिने विशेष योजना ल्याएर सम्बोधन गर्ने जानकारी दिए । 

 

उनले कोरोनाबाट प्रभावित विद्यालय क्षेत्रलाई नियमित सञ्चालन गर्न बालबालिकाका लागि आवश्यक खोपको व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताए । उनले भने, ‘केन्द्र सरकारसँग समन्वय गरेर खोप ल्याउँछौँ, त्यो नभए प्रदेश सरकार आफैँ अघि सरेर खोप ल्याउने योजना छ ।’  विपक्षी दलले प्रदेशसभामा गरेको अवरोधका विषयमा मुख्यमन्त्री केसीले असान्दर्भिक र लोकतन्त्र विरोधी कार्य भएको उल्लेख गरे । उनले विपक्षीले आफ्नो मत राख्ने स्थल प्रदेशसभा भए पनि आफैँले अवरोध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए । 

 

उनले लोकतन्त्र मान्छु भन्ने पार्टीले समीक्षा गरेर छिट्टै प्रदेशसभा अवरोध गर्नबाट पछि हट्नेमा आफू विश्वस्त रहेको बताए । सरकार आलोपालो चलाउने विषयमा पत्रकारले राखेको जिज्ञासामा मुख्यमन्त्री केसीले गठबन्धनको सहकार्यमा सरकार चलाउने विषय सहमति भए पनि समयावधिको विषयमा छलफल नभएको जिकिर गरे । ‘पाँच दलीय गठबन्धनको सरकार सहमतिमा सञ्चालन गर्ने भन्ने सहमति भएको हो’, उनले भने । ‘कसरी कसले कति समय चलाउने भन्ने विषय तोकिएको छैन ।’ 

 

यसैगरी मुख्यमन्त्री केसीले बगनासकाली कृषि सहकारी संस्थाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै सहकारीबाट नै मानिसलाई आत्मनिर्भर बनाउन सकिन्छ भने । सहकारीको माध्यमबाट सरकारसँग सहकार्य गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।