close

मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा टेबुल

मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा टेबुल

Trulli
ADVERTISEMENT

कर्णाली– मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनार्थ प्रस्ताव टेबुल गरेका छन् । निर्धारित कार्यसूचीअनुसार मंगलबार  बसेको प्रदेशसभाको बैठकमा उनले उक्त प्रस्ताव टेबुल गरेका हुन् । उक्त प्रस्तावमाथि बुधबार छलफल हुनेछ । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्छ । कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री पदमा नियुक्त भएको पर्सी बिहीबार ३० दिन पुग्दैछ ।

 

बैठकको प्रारम्भमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्रीको नियुक्ति, मन्त्रालयको कार्यविभाजन र प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएका थिए । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको उक्त प्रस्तावमाथि छलफल सुरु नभएको हो । एमालेका सदस्य पार्टीको दशौँ महाधिवेशनका लागि चितवनमा छन् । कांग्रेस प्रमुख सचेतक हिमबहादुर शाहीले सरकारका तर्फबाट बुधबारको बैठकमा एमालेलाई उपस्थित हुन आग्रह गरिएको र उनीहरुको सहभागिता हुने आफूहरुको अपेक्षा रहेको  बताए । 

 

विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री शाहीको योजना छ । हाल मन्त्रिपरिषद्मा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट एक मन्त्री हुनुहुन्छ । यसैबीच नेकपा (माओवादी केन्द्र) संसदीय दलको आजै बसेको बैठकले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।