close

सात महिनामा कर्णालीमा १२ प्रतिशत खर्च

सात महिनामा कर्णालीमा १२ प्रतिशत खर्च

Trulli
ADVERTISEMENT

सुर्खेत– कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा १२ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार रुपियाँमध्ये माघ मसान्तसम्म चार अर्ब ५५ करोड ६४ हजार २५८ रुपियाँ बजेट खर्च गरेको छ । यो १२ दशमलव ४४ प्रतिशत हो ।

 

चालू आर्थिक वर्षमा प्रदेश सरकारले चालू खर्चतर्फ १४ अर्ब ४६ करोड ३३ लाख विनियोजन गरेकामा माघ मसान्तसम्ममा दुई अर्ब ६१ करोड ९१ लाख रुपियाँ खर्च भएको छ । यो विनियोजित रकमको १८ दशमलव ११ प्रतिशत हो । यसैगरी पुँजीगततर्फ २२ अर्ब ११ करोड ६४ लाख विनियोजन भएकामा एक अर्ब ९३ करोड १५ लाख रुपियाँ अर्थात् आठ दशमलव ७३ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 

चार वर्ष बितिसक्दासमेत प्रदेश सरकारले पुँजीगत खर्चमा सुधार गर्न सकेको छैन । अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले कुल बजेटको ६५ दशमलव ५२ प्रतिशत बजेट खर्च गरेको थियो । पुँजीगत बजेट बढी हुने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ९ दशमलव ३२ प्रतिशत मात्रै खर्च गरेको छ भने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले १५ दशमलव ६३ प्रतिशत बजेट खर्च गरेको छ ।

 

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३ दशमलव ७० प्रतिशत, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ४.५ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २० दशमलव ३८ प्रतिशत, सामाजिक विकास मन्त्रालयले २३ दशमलव १४ प्रतिशत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १४ दशमलव १२ प्रतिशत बजेट खर्च गरेको छ ।