close

पियारीको अक्षयकोषमा १ करोड २० लाख बजेट परेपछि...

पियारीको अक्षयकोषमा १ करोड २० लाख बजेट परेपछि...

Trulli
ADVERTISEMENT

कास्की । गण्डकी प्रदेशमा सांसदको अक्षयकोषको लागि ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक विकास कार्यक्रममा सरकारले राष्ट्रिय जनमोर्चाको संसदीय दलकी नेता पियारी थापा परिवारको गाउँमैत्री अक्षयकोष (जिमाक)लाई ७० लाख रुपैयाँ छुट्याएको हो ।

प्रदेश संसाद पियारी थापा र जनवादी कलाकार हेमराज पुन (आश्रम) को विवाहका सन्दर्भमा २०६६ सालमा १० हजारबाट उक्त कोष सुरु भएको थियो । जिमाकको अध्यक्ष संस्था स्थापनादेखि नै सांसद पियारीका श्रीमान् हेमराज हुन् । 

संघीयताको विरोध गर्ने पार्टी राष्ट्रिय जनमोर्चाकै नेताले प्रदेश सरकारको ढुकुटीबाट ७० लाख रुपैयाँ आफ्नो कोषको भवन बनाउन पारेकी हुन् । 

बागलुङको काठेखोला गाउँपालिका-४ तंग्राममा जिमाक सांस्कृतिक संग्रहालय भवन निर्माणाधीन छ । दुई छुट्टै शीर्षकमार्फत प्रदेश सरकारले निर्माणको अन्तिम चरणमा रहेको भवनलाई ७० लाख रुपैयाँ दिन लागेको हो ।

जिमाक सांस्कृतिक संग्राहलय भवन बनाउन भनेर एउटा शीर्षकमा ६० लाख र अर्को शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षसहित गरेर सांसद थापाको कोष संग्रहालयलाई प्रदेश सरकारबाट एक करोड २० लाख रुपैयाँ परेको छ ।

यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार हुँदा सांसद थापाको अक्षयकोषले १० लाख रुपैयाँ पाएको थियो । गठबन्धन सरकार आएपछि चालु आर्थिक वर्षको बजेटमा पाँच गुणा बढी अर्थात् ५० लाख रुपैयाँ पाएको थियो ।

अक्षकोष किन ?

व्यक्तिगत रुपमा स्थापित उक्त अक्षकोष अहिले सामुदायिकमा रुपान्तरण गरेको सांसद थापा बताउँछिन् । पूरै समाजलाई समेटेर सामाजिक संस्थाको रुपमा कोषलाई विकास गरेको उनको जिकिर छ । तर स्थानीयले भने सामुदायिक रुपमा भने पनि व्यक्तिको मनोमानी भएको आरोप लगाएका छन् ।

सांसद थापाका अनुसार कला, साहित्य र संगीतको संरक्षण तथा पहिचानका लागि अक्षकोष स्थापना गरिएको हो ।

एक स्थानीयले भने, 'माननीयका श्रीमान् र परिवारले सञ्चालन गरेको कोषलाई वर्षैपिच्छे बजेट आउँछ तर यहाँ थुप्रै समस्या छन्, तिनका बारेमा माननीयको चासो देखिएन ।'

बा-आमाको नामको कोषमा बजेट

यसैबीच, यसअघि मुख्यमन्त्री र मन्त्रीले बा-आमाको नामको कोषमा बजेट हालेको विषयमा चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबाको नाममा बजेट नछुट्याउन निर्देशन दिएका छन् । 

उनका प्रेस संयोजक भरत कोइरालाले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीले बजेट नचाहिने बताएको जानकारी गराएका छन् ।

“गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को वार्षिक कार्यक्रममा समावेश गरेका गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कलगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलज्यूको ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्रीज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको व्यहोरो जानकारी गराइन्छ ।”