close

पोखरा महानगरमा ट्राफिक लाइट राखिँदै

पोखरा महानगरमा ट्राफिक लाइट राखिँदै

Trulli
ADVERTISEMENT

कास्की - खिया लागेका र भाँचिएका फलामे स्ट्याण्डहरू पोखराका मुख्य चोकहरूमा अहिले पनि छन् । २० वर्षअघि पोखरामा पार्किङको ठेक्का लिएको पोखरा कमर्सियल अटो पार्किङ (पीक्याप)ले पोखरामा पहिलो पटक ट्राफिक लाइट राखेको थियो । तर, राम्रोसँग प्रयोगमा नै नआई ती लाइटहरू ध्वस्त भए । 


ठेकेदारले छाडेपछि नगरपालिकाले त्यसको अपनत्व लिएन । जनआन्दोलनताका ती सबै लाइटहरू फुटाइयो । अन्तर्राष्ट्रिय पर्यटकको चहलपहल हुने पोखरामा त्यसयता ट्राफिक लाइट राखिएको छैन ।


पटकपटक छलफलमा आए पनि यसका लागि ठोस कदम अघि बढेकै छैन । तत्कालीन समयमा पोखराको सभागृह चोक, सिर्जना चोक, महेन्द्रपुल, चिप्लेढुंगालगायतका चोकहरूमा ट्राफिक लाइट राखिएका थिए । अहिले पोखरामा सवारी चाप दिनहुँ अत्यधिक मात्रामा बढेको छ । 


दर्जनौँ ट्राफिक प्रहरी चोकमा दिनभर सिठ्ठी फुकेर समय बिताउँछन् । चोकमा लाइट राख्ने हो भने जनशक्तिको प्रयोग घटाउन सकिन्छ । यद्यपि, २० वर्षपछि पुनः लाइट राख्न पोखरा महानगरपालिकाले चासो देखाएको छ ।


पहिलो चरणमा पोखराको महेन्द्रपुलमा लाइट राख्न सम्झौतासमेत भइसकेको छ । दुई महिनाभित्रै लाइट राख्ने गरी बिफ्रेण्ड कन्स्ट्रक्सनसँग सम्झौता गरिएको महानगरले जनाएको छ । 


‘सम्झौता भइसकेको छ । अब दुई महिनाभित्र महेन्द्रपुलको चोकमा ट्राफिक लाइट देखिन्छ’, नगरप्रमुख मानबहादुर जीसीले भने, ‘त्यसपछि क्रमशः अरू चोकमा पनि लाइट विस्तार हुन्छ ।’ 


लाइट राख्न १९ लाख रुपैयाँ लागत लाग्नेछ । दुई करोड ५७ लाख रुपैयाँ लागत अनुमान गरिएकामा बिफ्रेण्डले १९ लाख रुपैयाँमै लाइट तयार गर्ने जनाएको छ । 


केही समयअघि सडक डिभिजन कार्यालय र पोखरा महानगरपालिकाले संयुक्त रूपमा १० वटा चोकमा लाइट राख्न सर्भे गरेका थिए । सडकले अमरसिंह, पृथ्वी चोक, जिरो किलोमिटर, बिरौटा चोक र सिर्जना चोकमा लाइट राख्न सर्भे गरेको थियो । महानगरपालिकाले भने चिप्लेढुंगा, महेन्द्रपुल, सभागृह चोक, राष्ट्र बैंक चोक र हल्लन चोकमा लाइट जडानको सर्भे गरेको हो ।


अन्तर्राष्ट्रिय विमानस्थलसँगै यहाँको सवारी चाप झन् बढ्ने निश्चित छ । सधैँ स्मार्ट सिटी भन्ने यहाँका जनप्रतिनिधिले न त बसपार्क निर्माणमा चासो दिएका छन्, न ट्राफिक लाइटमै । दुई वर्षअघि बल्लबल्ल आइल्याण्ड घटाइएको छ । काममा हुने ढिलासुस्तीले जनप्रतिनिधि आएको आभास नागरिकले पाउन सकेका छैनन् । 


अहिले यातायात व्यवस्था कार्यालय गण्डकीमा मात्र दुई लाखभन्दा बढी सवारी साधन दर्ता भएका छन् । त्यसबाहेक अरू ठाउँमा दर्ता भएका गाडीसमेत पोखरा आउँछन् । पोखरा तीनवटा राजमार्गको प्रश्थान विन्दु हो । पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग पोखराबाटै सुरु हुन्छ ।