close

फराकिला सडक भएर के गर्नु, आकाशे पुल छैन (भिडियाे खबर)

फराकिला सडक भएर के गर्नु, आकाशे पुल छैन (भिडियाे खबर)

Trulli
ADVERTISEMENT

कास्की- व्यस्त शहर, उत्तिकै दबाब बढेको छ, शहरी सडकमा । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सुविधाको अभावमा मान्छे शहर झर्न थालेपछि सडकमा चाप बढेको हो । 


त्यसो त पोखरा सुन्दर शहर भएका कारण यहाँ आउने पर्यटकको संख्यासमेत बर्सेनि बढ्दो छ । जति शहरमा पर्यटक र आगन्तुक बढ्छन्, उसैगरी थपिन्छ सडकमा चाप । अहिले अस्तव्यस्त छन् पोखराका चोकहरू । 


पैदल यात्रुले सजिलै बाटो काट्न सक्दैनन् । यो समस्या पोखराका सबैजसो चोकहरूमा छ । सडकमा जेब्रा क्रस त बनाइएको छ तर गाडीको तीव्र गतिले कहिलेकाहीँ पैदल यात्रुलाई ठक्कर दिने र मृत्युसमेत हुने गरेको छ । जोखिम न्यूनीकरण गर्न पोखरा महानगरपालिकाले पोखराको सिर्जना चोकमा आकाशे पुल निर्माण थालेको छ ।


बढ्दो सवारी चापलाई न्यूनीकरण गरी पैदलयात्रीलाई सहज आवागमन सुविधा दिन कास्कीको पोखरास्थित सिर्जना चोक, पृथ्वी चोक र चिप्लेढुंगामा आकाशे पुल बनाउने प्रस्ताव गरिएको थियो । तर, बजेटको अभाव देखाएर सिर्जना चोकमा मात्र पुल बनाउन थालिएको छ । 

 

पुल शिलान्यास भएको १ वर्ष पूरा भइसक्यो तर पुल निर्माण सकिएको छैन । गएको वैशाख महिनामै पुल निर्माण सक्ने लक्ष्य लिइएको भए पनि अझै त्यसले मूर्तता पाउन सकेको देखिँदैन ।


पोखरा महानगरले २ करोड ३० लाख ११ हजार रुपैयाँको लागतमा पुल बनाउन केएम जेभी/एनएस जेभी पोखरासँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीले सांसद विकास कोषमार्फत ५० लाख रुपैयाँ विनियोजन गरेका थिए भने बाँकी रकम पोखरा महानगरपालिकाको हो । 

 

तर, डिजाइनमै समस्या भएपछि नयाँ डिजाइन बनाएर पुल निर्माण थालिएको हो । पुल १२ मिटर अग्लो छ । पुलको एक स्थानबाट प्रवेश गरेपछि चारै दिशातर्फ जान मिल्ने गरी स्टिल संरचनामा निर्माण गर्ने तयारी छ । तर, प्रस्तावित आयोजनाले भने तीव्रता पाएको छैन । महानगरले गौरवको आयोजनाको रूपमा यसलाई प्रस्ताव गरे पनि गौरवको काम भने हुन सकेको छैन ।


योजना कार्यान्वयनमा नै महानगर अल्झिरहँदा सडकमा सर्वसाधारणले भोग्ने सकस भने कम छैन । सवारी जामले हरेक दिन उत्पन्न हुने परिस्थितिसँग पौँठेजोरी खेल्नुपर्ने बाध्यता स्थानीयको छ । 


आकाशे पुल पोखराका हरेक चोकमा आवश्यक भइसकेको छ । अन्तर्राष्ट्रिय र पर्यटकीय शहरको रूपमा दाबी गर्ने पोखराले सोहीअनुसार प्रविधि र पूर्वाधार भने बनाउन सकेको छैन । चोकमा ट्राफिक लाइट छैन, भद्दा आइल्याण्ड छन् । केही समय आइल्याण्ड घटाउने अभियान चलाइए पनि त्यसले पूर्णता पाएको छैन ।