close

वर पिपल चौतारी होइन, ‘मिलन चौतारी’

वर पिपल चौतारी होइन, ‘मिलन चौतारी’

Trulli
ADVERTISEMENT

भक्तपुर– वर पिपल वा ठूलो रुखमुनि बस्न मिल्ने गरी बनाइएको चौतारी । चौतारीको वरिपरि गफिँदै गरेका बटुवा अनि स्थानीयहरू । मध्य घामको राप होस्, सिमसिमे झरी; सबैलाई ओत दिने गरी बनाइएको बिसौनीको झल्को आउँछ । जहाँ भरिया र बटुवाहरू थकाई मार्छन् । 

तर, भक्तपुरको चाँगुनारायण नगरपालिकाले परिकल्पना गरी बनाएको चौतारी हामीले देख्दै आएको भन्दा फरक छ । ९ वटा वडा भएको चाँगुनारायणले सबै वडामा चौतारी बनाएको छ । तर, चौतारी रुखको फेदमा छैन । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि वडामा ज्येष्ठ नागरिकका लागि ‘मिलन चौतारी’ को परिकल्पना गरी गठन गरिएको नगरपालिकाले जनाएको छ । 

‘मिलन चौतारी’ चाँगुनारायणका रहेका हरेक ज्येष्ठ नागरिकको साझा संगठन हो । जहाँ ६० वर्ष पुगेका जो सुकै स्थानीयले आफ्नो तरिकाबाट गफगाफ र क्रियाशील काम गरेर बिताउन सक्छ । मिलन चौतारी नगरपालिकामा दर्ता भएको सञ्चालन गरिएको आधिकारिक संगठन रहेको सामाजिक विकास शाखाकी प्रमुख नीला कुमारी घिमिरेले बताइन् । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ सालदेखि वडा नं १ बाट मिलान चौतारीको गठन सुरु गरिएको थियो । ‘एउटा वडामा गठन गर्न बाँकी थियो । गत असारमा गठन गर्‍यौँ । अहिले सबै वडामा छ,’ उनले भनिन् । 

‘ज्येष्ठ नागरिक मिलन चौतारी’ सञ्चालनका लागि नगरपालिकाले कार्यविधि नै तयार गरेर समितिको गठन गरेको उनले बताइन् । समितिको स्थापना नगरपालिकाले गरेको भए पनि यसको सञ्चालन र व्यवस्थापन भने ज्येष्ठ नागरिक स्वयंम आफैँले गर्छन् । वडामा रहेका सार्वजनिक भवन तथा स्थानमा भेला भएर कार्यक्रमहरू सञ्चालन गर्ने गरेको उनले सुनाइन् । मिलन चौतारीका सदस्यहरु भेला भएर हार्मोनियम, तबला, झ्याली, मुजुरा आदि बाजा बजाउँदै समय बिताउने गरेको उनले सुनाइन् । त्यससँगै वृद्धवृद्धाहरू गफ गर्दै समय बिताउँछन् । 

ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दा पनि नगरपालिकाले मिलन चौतारी सँग छलफल र सहकार्य गरेर योजना ल्याउने गरेको छ । ज्येष्ठ नागरिकले मिलन चौतारीमार्फत वडा तथा नगरपालिकाले निर्माण गर्ने योजनामा आफ्ना अनुभव, सल्लाह तथा सुझाव दिन पनि सहज भएको उनले बताइन् ।

‘एउटा समितिमा जतिजना पनि सदस्य बन्न सक्नुहुन्छ । तर एउटा वडामा एउटा मात्र मिलन चौतारी छ ।’ भौगोलिक रुपमा टाढा भएका ज्येष्ठ नागरिकलाई भने सो समितिले समेट्न नसकेको उनले बताइन् । 

एउटा वडामा मिलन चौतारी गठन गर्दा सुरुमा १ लाख रुपैयाँ उपलब्ध गराएको सामाजिक विकास शाखाकी प्रमुख घिमिरे बताइन् । दिर्घकालीन रुपमा समिति सञ्चालन गर्ने उद्देश्यले पछि पछि पनि नगरपालिकाले बजेट विनियोजन गर्दै आएको उनले बताइन् । ‘ चालु आर्थिक वर्षमा एउटा मिलन चौतारीलाई २५ हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । कुनै वर्ष समितिलाई बाजागाजा लगायतका आवश्यक सामाग्री उपलब्ध गराउँछौँ,’ नगरपालिकाले स्थापना गरेपछि पनि निरन्तर सहयोग गरिरहेको उनले सुनाइन् ।

मिलन चौतारीबाट नै ज्येष्ठ नागरिकहरू तीर्थयात्रा र भ्रमणमा जाने गरेको समेत उनले सुनाइन् । उनले भनिन्, ‘कहिलेकाँही नगरपालिका आफैँले भ्रमणमा लैजान्छ । कहिलेकाँही उहाँहरू आफैँ सल्लाह गरेर पनि जानुहुन्छ ।’ 

यस्तै, नगरपालिकाले ज्येष्ठ नागरिकको सेवाको लागि घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण समेत सुरु गरेको सामाजिक विकास शाखाकी प्रमुख घिमिरेले बताइन् । उनले भनिन्, ‘केही वडाबाट हामीले घरमै स्वास्थ्य परीक्षण सेवा सुरु गरेका छौँ । उहाँहरूमा के कस्तो रोग छ जाँच गरेर उपचार गराउँछौँ,’ उनले भनिन् । 

सरकारले ६८ वर्ष उमेर माथिका ज्येष्ठ नागरिक भत्ता दिने नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । तर, चाँगुनारायण नगरपालिकाले सबै स्थानीय बासीको निःशुल्क स्वास्थ्य बीमा गरिदिएर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन् । उनका अनुसार स्थानीय बासीलाई आवश्यक परेको समयमा नगरपालिकाले निःशुल्क रगतसमेत उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।