close

७ महिनादेखि खुला आकाशमुनि बास, बेलुकालाई छैन गाँस

७ महिनादेखि खुला आकाशमुनि बास, बेलुकालाई छैन गाँस

Trulli
ADVERTISEMENT

सुर्खेत - भारत झारखण्डको राँची जिल्लाका धर्मेन्द्र दास एवं श्रीमती देवी परियार र भारत गुजरातका कालु यादव नेपाल हुने मेला-महोत्सवलाई आवश्यक पर्ने सामान जोहो गरेर जडानको काम गर्छन् । 


गत फागुनमा सुर्खेत महोत्सवमा आएका उनीहरुलाई लकडाउनले सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमैै रोक्यो । फागुन अन्तिमसम्म लागेको महोत्सवमा चैत ११ देखि कोरोना संक्रमणका कारण नेपालमा लकडाउन भयो । लकडाउनका कारण महोत्सवमा आवश्यक पर्ने रोटेपिङ, बालबालिका खेलौना, चर्केपिङ र सर्कसका सामान गुजरातका सोची खानले दासलाई जिम्मा दिएर खुलामञ्चमै छाडे । 


शौचालय, पानीको व्यवस्था नभएको खुलामञ्चमा दास श्रीमती, डेढ वर्षे छोरा र गुजरातका कालु यादव अहिले वीरेन्द्रनगरको खुलामञ्चमा महोत्सवमा ल्याइएका सामान कुरेरै दिन कटाउँछन् ।  महोत्सवका लागि सामान ल्याएका साहू सबै जिम्मा दिएपछि सामान कुर्न बसेका उनीहरु साहू आउने दिनको प्रतीक्षामा बसेको महिनौं भइसकेको छ ।


नवलपरासी बर्दघाटकी देवी परियारसँग विवाह गरेका दास लकडाउन हुनुअघि ३ जनालाई साहू खानले १० हजार रुपैयाँ छाडेर गएको बताउँछन् । ‘७ महिना लामो लकडाउनका कारण खुलामञ्चलको बसाइले थकित भएका छौं । भनेको बेला खाना खान र शौचालय जानसम्म समस्या छ । साहूले दिएको १० हजारले सात महिना जेनतेन गुजारा चलायौं । अब कसरी खाने भन्ने पिरलो छ’, दास निराश सुनिन्छन् ।


खुलामञ्चमा ७ महिनासम्म निकै कष्टसाथ बसेको दासकी श्रीमती देवी परियारले बताइन् । ‘सानो बच्चाका साथ खुलाचौरमा बस्नु परेको छ,’ उनले भनिन्, ‘बच्चा बिरामी हुँदा उपचारसमेत गर्न सकिएको छैन ।’

 

साहूले दिएको १० हजार सकिएको र खाद्यान्न पसले उधारो दिन छाडेको गुनासो उनको छ । उनले भनिन्, ‘यहाँ मजदुरी गर्दा कसैले साग दिए, कसैले १/२  किलो चामल दिएर ज्यान बचाएका छौं ।’ अहिले लकडाउन खुला भएकाले श्रीमान र कालु यादवले दिनमा मजदुरी गरेको कमाइबाट अहिले हातमुख जोड्न थालेको परियारले बताइन् ‘अहिले लकडाउन खुलेको छ,’ उनले भनिन्, ‘भारत फर्किएका साहू आए आफ्नै घर जाने विचार छ ।’


लकडाउनमा बेला भोकै बस्दा वीरेन्द्रनगर नगरपालिकासँग राहत माग्न गए पनि स्थायी बासिन्दा भए मात्र दिने भनेर फर्काइदिएको उनी बताउँछिन् । ‘सुर्खेतकै स्थायी बासिन्दा नहुँदा पहिला राहत दिइएन’, उनले भनिन्, ‘पछि नगरपालिकामा गएर रोइकराइ गर्दा २५ किलो चामल पायौं । त्यसले केही दिन खानलाई पुग्यो ।’ 


लकडाउनका कारण मेला-महोत्सव हुन छाडेकाले आम्दानी स्रोत गुमेको परियार सुनाउँछिन् । उनले भनिन्, ‘महोत्सवमा काम गर्दा केही पैसा कमाइ हुन्थ्यो । त्यसको ५० प्रतिशत महोत्सव आयोजना गर्ने साहूहरूलाई दिनुपर्थ्याे ।’


अहिले मजदुरी गरेर दाल, चामल जुटाएर दैनिक छाक टार्नु परेको कालु यादवले बताए । ‘काम गरेबापत कसैले दाल–चामल दिने गरेका छन्,’ उनले भने, ‘फागुनदेखि नेपालमा बस्दा निकै समस्या भयो । कोरोनाभन्दा भोकले मरिने चिन्ता थपिएपछि मजदुरी गर्न थालेका हौं ।’