भक्तपुर- भक्तपुरकी धर्मलक्ष्मी दुवालको उमेर ५० कटे पनि उनको १६ वर्षे बैंसालु वय अझै ताजा छ । भक्तपुर दरबार स्क्वायरसँगै त्रिपुरासुन्दरीमा श्रमिक सिलाइ पसल खोलेकी उनी प्रत्येक दिन अरूको शरीर ढाक्ने मात्रै नभई शरीर सुहाउने लुगा सिलाइदिन्छन् ।
उनको हातले सिलाएका कपडाले भक्तपुरका स्थानीयको शरीरमा मात्र होइन, काठमाडौं र ललितपुरका स्थानीयको शरीर सजिएका छन् । उनीजस्तै हीरादेवी दनेखुको पीडा पनि उस्तै छ । उमेरले ४७ टेकेकी उनी १३ वर्षदेखि नै नेवारी कपडा सिलाइका साथै बनाउनेसमेत गर्छिन् ।
‘त्यस समय छोरीले पढ्नुहुन्न भन्ने मान्यता थियो । ४ कक्षा पढेपछि आमाले स्कुल जान दिनुभएन,’ दनेखुले भनिन्, ‘उहाँसँगै बसेर नेवारी कपडा बनाउनेदेखि सिलाउनसम्म सिकेँ ।’
आफ्नो सिलाइ पसलमा मानिसले लगाउने नेवारी कपडा मात्रै नभएर देवता शृंगार्ने कपडासमेत बनाउने गरेको उनले बताइन् । दनेखुले भनिन्, ‘देवतालाई शृंगार्ने कपडा बनाउन आफ्नै नियम छ । खाना खाएर बनाउनुहुन्न ।’
जीवनको ३५ वर्ष सोही पेसामा आबद्ध भएकी उनी कमाइ भने खासै नहुने सुनाउँछिन् । ‘अरू काम गरुँ जानिनँ । यो कामबाट खासै आम्दानी हुन्न,’ उनले भनिन्, ‘काम पनि छैन, फुर्सद पनि छैन ।’
त्रिपुरासुन्दरी नेवारी कपडा पसल सञ्चालन गरेकी उनी दिनभर एक्लै काम गर्छिन । कपडा बनाउन अरू साथीलाई बोलाएर गरेको कामको ज्याला दिई पठाउँछिन् ।
दरबार स्क्वायर घुम्न आएका आन्तरिक पर्यटकले नेवारी पोसाक सिलाउन अर्डर दिने र पछि लिन आउने दुवाल बताउँछिन् । ‘विशेषगरी नेवारी पोसाकका लुगा सिलाउँछु,’ उनी भन्छिन्, ‘सिजन नभएको समय अन्य कपडा पनि सिलाउँछु ।’
उनीहरूका अनुसार उपत्यकाका भक्तपुर, काठमाडौं र ललितपुरलगायत अन्य जिल्लाबाट पनि लुगा सिलाउने अर्डर आउने गरेको छ ।
‘फेसनका लागि नेवार समुदायले मात्रै नभई गैरनेवारले पनि नेवारी पोसाक लगाउन थालेका छन्,’ दनेखु भन्छिन्, ‘पहिले लुगा सिलाउन आर्थिक समस्या हुन्थ्यो । रहर भए पनि पैसा नभएकाले कमैले मात्रै लुगा सिलाउँथे । आजभोलि संस्कृतिसँगै फेसनका लागि नेवारी पोसाक लगाउने गर्छन् ।’
आधुनिकतासँगै नेवारी पोसाक लोप हुन थालेमा उनीहरूको चिन्ता छ । विशेष कार्यक्रम शुभकार्य, बिहे, व्रतबन्धमा मात्रै नेवारी पोसाक प्रयोग हुन थालेको दुवाल बताउँछिन् ।
आधुनिकताले नेवारी पोसाकलाई समेत छपक्कै छोपेको उनको बुझाइ छ । नयाँ पुस्ताले नेवारी पोसाककै जामा, ल्यांगा, वन पीसजस्ता पहिरन लगाउन थालेको छ । त्यसबाहेक अरू सामानको खासै बजार नभएको उनले सुनाइन् ।
‘पहिले त नेवारी पोसाक सिलाएर भ्याइँदैन थियो । तर, आजभोलि सिजनमै १५ जोर जान मुस्किल हुन्छ,’ उनी भन्छिन् ।
१५ वर्षदेखि सिलाइ कर्ममा लागेकी उनमा ३५ वर्ष काम गर्दा पनि उस्तै जोस छ । ‘कहिलेकाहीँ अल्छी लाग्छ । त्यो बेला रेडियो सुन्छु । बाहिर घुम्छु अनि फेरि जाँगर उस्तै हुन्छ,’ उनी भन्छिन्, ‘आजभोलि भक्तपुर नगरपालिकाको सिलाइ तालिममा प्रशिक्षकको रूपमा काम गरिरहेकी छु ।’