close

पद्मसम्भवको तपोभूमिमा बन्यो गुम्बा

पद्मसम्भवको तपोभूमिमा बन्यो गुम्बा

Trulli
ADVERTISEMENT

काभ्रे– गुरु पद्मसम्भवले ध्यान गरेको ऐतिहासिक तपोभूमि काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ८ टेकानपुरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘उग्येन पेज्युङ डुब्देलिङ’ गुम्बा निर्माण भएको छ ।

 

करिब २ हजार १ सय मिटर उचाइमा रहेको तेमाल क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित छ ।धार्मिक पर्यटन तथा बौद्ध दर्शन, संस्कृतिको संरक्षणका लागि निर्माण गरिएको उक्त गुम्बाका भित्तामा बौद्ध दर्शन प्रवद्र्धनका लागि योगदान दिने धार्मिक गुरु र अन्य पात्रका साथै तामाङ पहिचानसँग जोडिएका ऐतिहासिक विषय वस्तुको पनि अध्ययन गर्न पाइनेछ ।


स्थानीय च्याम्पु पाख्रिन र गुञ्जमान दोङले २ रोपनी १५ आना जग्गा दान दिएर गत वर्ष २० पुस ०७७ देखि निर्माण सुरु भएको गुम्बाको मुख्य भवन निर्माण सकिएको हो । 

 

उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष जगतमान लामा दोङका अनुसार गुम्बामा राखिने मूर्ति बनाउन भुटानबाट टोली नेपाल आइपुगेको छ । मूर्तिकारले आइतबारदेखि बौद्ध धर्म, दर्शन संस्कृतिसँग सम्बन्धित मूर्ति बनाउने कार्य थाल्ने उनले बताए ।

 

अध्यक्ष दोङले भने, ‘करिब ६ महिनामा गुम्बामा राखिने बौद्ध दर्शनका मुख्य देवता, द्विग्दज गुरु, तपस्वीलगायतका धार्मिक पात्र र तामाङ राज्यका अन्तिम राजा रिन्जिन दोर्जेसम्बन्धी इतिहास कोरिनेछन् ।’ 


यहाँ आउने श्रद्धालु तथा धार्मिक पर्यटकले सो क्षेत्रमा आएर पूजा प्रार्थना, दान, पुण्यका साथै इतिहासको समेत अध्ययन गर्न सकून् भन्ने लक्ष्यले गुम्बामा काम चलिरहेको समितिले जनाएको छ ।

 

अनुमानित लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेकामा अहिलेसम्म २ करोड सम्म लाग्ने देखिएको अध्यक्ष दोङको भनाइ छ । गुम्बा निर्माण तीन वर्षभित्र सक्ने लक्ष्यले एक वर्ष अगाडिदेखि काम सुरु भएकनमा गुम्बामा मूर्ति, बुट्टा कोर्ने, पर्खाल बाटो, पानी, शौचालयलगायत व्यवस्थापनको काम सुरु भएको छ ।

 

गुम्बा निर्माण गरिने स्थानबाट विश्वकै सबैभन्दा अग्लो हिमशिखर सगरमाथा, गौरीशंकर, लाङटाङ, लाङ्ठांग्री चुचुरा, दोर्जेलक्पा र उत्तर पश्चिमतर्फका हिमशिखर गणेश हिमाल, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमशृंखला देख्न सकिन्छ ।

 

बौद्धमार्गी तामाङ जातिको बसोबास रहेको उक्त क्षेत्रमा निर्माण गरिने उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माणस्थल काठमाडौं– बर्दिबास जोड्ने बीपी राजमार्गको माम्ती नेपालथोकबाट ५ किलोमिटरको दूरीमा रहेको अध्यक्ष दोङले जानकारी दिए ।

 

राजधानीको नजिकको गन्तव्य भएकाले यस गुम्बाले बौद्ध धर्मप्रति आस्था राख्ने भक्तजनका साथै आन्तरिक तथा बाह्य पर्यटकको ध्यानाकर्षण गर्ने उनको विश्वास छ ।


पूजा, प्रार्थना मात्र गर्ने स्थलका रूपमा भन्दा पनि गुम्बालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्दै स्थानीयको जीवनस्तर उकास्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको समितिले जनाएको छ ।

 

स्थानीय उत्पादन बिक्री गर्ने, परम्परागत उपचार पद्धति ‘आम्ची’ लाई पनि प्रवद्र्धन गर्दै औषधीजन्य स्थानीय जडीबुटीको खेती तथा सदुपयोगको वातावरण तयार गर्ने समितिको लक्ष्य छ ।

 

५० हजार रुपैयाँ बढी सहयोग गर्ने व्यक्तित्वको नाम गुम्बाको शिलापत्रमा राखिनेछ । स्थानीय कुमार दोङ र सिंहमान लामाको पहिलो चन्दा सहयोगबाट गुम्बा बनाउने काम सुरु गरिएकामा हालसम्म ४ सय श्रद्धालु तथा दाताबाट करिब १ करोड रुपैयाँ बढी चन्दा संकलन भएको छ ।

 

बाँकी कामका लागि पनि सहयोग निरन्तर आइरहेकोमा यसको अभिलेख व्यवस्थित र पारदर्शी ढंगले राखिएको समितिले जनाएको छ ।