close

हालसम्म महाकाली नदीको दार्चुला क्षेत्रमा तुइनबाट खसेर २६ जनाको मृत्यु

हालसम्म महाकाली नदीको दार्चुला क्षेत्रमा तुइनबाट खसेर २६ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

दार्चुला । सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा मृत्यु वरण गर्न परिरहेको छ । 

गतवर्ष महाकाली नदी तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकालीमा खसेर बेपत्ता हुनुभएको घटना एक वर्ष पुग्न लागेको छ । तर, नदी पार गर्ने क्रममा तुइनबाट खस्ने क्रम अझै रोकिएको छैन । 

तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म चर्को आवाज उठ्ने गरेको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दु कडरियाले तुइन चुडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । 

गत बुधबार मात्रै व्यास गाउँपलिका–२ तुम्लिङका १८ वर्षीय सञ्जीव बुढाथोकी भारतबाट तुइन तरेर नेपाल फर्कने क्रममा महाकाली नदीमा बेपत्ता भएको उनले सदनलाई जानकारी गराए । अहिलेसम्म महाकाली नदीको दार्चुला क्षेत्रमा मात्रै तुइनबाट खसेर २६ जनाले ज्यान गुमाइसकेको उनको भनाइ छ । 

तुइनलाई विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने सरकारको योजना भए पनि केही स्थानमा मात्र तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएको सांसद कडरियाले बताइन् । 

महाकालीमा मात्र तुइन विस्थापित गरी ११ स्थानमा पुल निर्माण गर्नुपर्ने कार्ययोजना भए पनि सात ठाउँमा निर्माण कार्य शुरु हुन नसकेको भन्दै उनले त्यस्ता ठाउँमा तत्काल पुल निर्माण गरेर जनताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद खिमलाल देवकाटाले ललितपुरको भैँसेपाटीमा ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको ५०० मिटर सडक निर्माण गर्न आफूले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नै नभएको र मुलुकमा सरकार छ भन्ने अनुभूति नै नभएको बताए । सांसद दीलकुमारी रावल थापा (पार्वती)ले मुलुकको सबै भन्दा पूरानो त्रिभूवन विश्वविद्यालयमा भइरहेको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।