close

सूर्यगढी १ नम्बर वडाको सेवा चार ठाँउबाट

सूर्यगढी १ नम्बर वडाको सेवा चार ठाँउबाट

Trulli
ADVERTISEMENT

नुवाकोट । सूर्यगढी गाउँपालिका–१ को कार्यालयले दिने सेवा चार स्थानबाट उपलब्ध गराउने भएको छ । कार्यालय रहेको स्थान सोलेमानेसहित चार स्थानबाट सेवा उपलब्ध गराउने निर्णय गरिएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिए । उनका अनुसार हालै बसेको वडा कार्यसमितिको बैठकले वडा कार्यालय रहेको स्थान सोलेमानेसहित हरेक महिनाको ५ गते सल्लेनडाँडा, १५ गते धोबीखोला र २५ गते डिठास्वाराबाट समेत एकीकृत सेवा उपलब्ध गराउन लागेको हो ।

“अहिले सोलमानेमा रहेको वडा कार्यालयसहित कृषि र पशु विकासको सेवा शाखा कार्यालय, स्वास्थ्यचौकीसहितको सेवा अबदेखि अन्य तीन स्थानबाट सञ्चालन हुने एकीकृत घुम्ती शिविरमा उपलब्ध हुनेछ”, उनले भने, “शिविरमार्फत भौगोलिक विकटता र राज्यको सेवाको उपभोगमा  सहयोग पुग्ने विश्वास छ ।” वडाको मध्यविन्दुमा वडा कार्यालय भए पनि भौगोलिकरूपमा विकट भएकाले सेवा लिन नागरिकको पहुँच र चासो कम भएको पाइएसँगै वडाको सेवा थप तीन स्थानमा विस्तार गर्नुपरेको वडा समितिको बैठकको निर्णयमा भनिएको छ ।

महिनाको थप तीन स्थानमा सञ्चालन गरिने सेवामा वडा कार्यालयबाट उपलब्ध हुने सबै सेवासहित स्वास्थ्यचौकी, कृषि र पशु विकासको शाखा कार्यालयमार्फत प्रदान गरिने सेवासमेत उपलब्ध गराइने छ । घुम्ती शिविर सञ्चालनका लागि सल्लेनडाँडा र धोबीखोलामा घुम्ती सेवा केन्द्रको भवन बनाउन वडा कार्यालयले बजेटसमेत छुट्याएको छ ।

हालका लागि वडा कार्यालय र मातहतमा रहेका सेवालाई घुम्ती शिविरमार्फत प्रदान गर्न लागिएको छ भने आगामी दिन घुम्ती शिविरमा पालिकाको विभिन्न शाखाबाट प्रवाह गरिने सेवासहित ठूला स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वास्थ्य शिविरलगायत सेवासमेत समावेश गरिने वडाध्यक्ष तामाङको भनाइ थियो । उनका अनुसार साविक लच्याङ गाविसअन्तर्गत रहेको वडा नं १ मा चार हजारभन्दा बढी जनसङ्ख्या छन् भने १४दशमलव चार वर्ग किलोमिटर क्षेत्र  छ । वडाभित्र बाहुन तथा क्षेत्री चार नेवार समुदाय आठ  दलित समुदाय छत्तीस घरधुरी छन् भने बाँकी सबै तामाङ र गुरुङ समुदायको बसोबास छ ।  

“सडकको राम्रो पहुँच पुगेको छैन, शिक्षा र स्वास्थ्य चेतनाको स्तर वृद्धि गर्नुपर्ने छ”, वडाध्यक्ष तामाङले भने, “वडावासीको प्रमुख पेशा कृषि भए पनि त्यो परम्परगतबाट व्यावसायिकतर्फ अघि बढाउन नसक्दा आर्थिक अवस्था सुधार्न चुनौती छ ।”

शिक्षा र स्वास्थ्यमा  सुधारसहित कृषिमा आधुनिकीकरण र  व्यावसायीककरणतर्फ अघि बढाउनका लागि  स्वरोजगार प्रवद्र्धनका साथै सडक र विद्युतीय सेवालाई गुणस्तरीय बनाउन एकीकृत घुम्ती सेवा शिविरले जागरुकता र जिम्मेवारी बढाउने अपेक्षा लिइएको वडासचिव दिनेश श्रेष्ठले बताए ।