close

आर्थिक सङ्कटले झेलिएको दशैँ

आर्थिक सङ्कटले झेलिएको दशैँ

Trulli
अनुगमनको फाइल फोटो
ADVERTISEMENT

मलेखु । हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दशैँ । मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिदैन । किनमेलमा पनि तडक भडक छैन ।

यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ । “एक त सबै सामान महँगो भएको छ, अर्कोतर्फ मान्छेसँग पैसा छैन”, नीलकण्ठ नगरपालिका–३ पुछारबजारकी खाद्यान्न व्यवसायी सीता अर्यालले भनिन्  ।

बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दशैँ आर्थिक सङ्कटले झेलिएको छ । कोरोना भाइरस महामारीपछिको पहिलो दशैँ उपभोक्तालाई निकै महँगो पर्नेभएको छ । बजारमा दैनिक उपभोग्य वस्तु महँगिदै जाँदा उपभोक्ता मुल्यवृद्धिको चपेटामा परेका छन् ।

चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्याङ्ग्र्राको मूल्य बढेकाले दशैँ  महङ्गिएको छ । अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको सदरमुकाम धादिङवेसीका पुराना व्यवसायी अशोककुमार श्रेष्ठले बताए । 

सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्‍याउन सकिरहेका छैनन् । उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन । यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ ।

दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्नेक्रम कायमै रहेको छ । आलु, गोलभेडा, काउलीलगायत तरकारीको मूल्य बढेको छ । चुलिँदै गरेको मूल्य वृद्धि रोक्न सरकारको ध्यान पुग्न ढिला भइसकेको धादिङ उद्योग वाणिज्य सङ्घका महासचिव तिलक सिंखडाले बताए ।