close

विश्वकपको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

विश्वकपको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि खेलेको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

रोहितकुमार पौडेललको शतक र सोमपाल कामीको पाँच विकेटप्रेरित नेपालले शनिबार राति खेलेको दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले हराएको हो । 

अमेरिकाको ह्युस्टनस्थित पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २५० रन बनाएको थियो । २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्स ४३.३ ओभरमा २२१ बनाउँदा सबै विकेट गुमाएको थियो । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्न अमेरिका भ्रमणमा रहेको नेपाल यसअघि चार विकेटले पराजित भएको थियो । 

कप्तानको भूमिकामा रहेका नेपालका रोहितकुमारले ९० बलमा १०१ रन बनाए । उनले आरिफ शेखसँग पाँचौं विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए । आरिफ ४१ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले २४ रन बनाउँदा देब खनालले १९ रन बनाए । नेपालका ओपनर सुनिल धमलाले १३ रन बनाउँदा कुशल भुर्तेल एक रन बनाएर पवेलियन फर्किए । 

करण केसीले १२ रन बनाए भने सुशन भारीले ५ र विनोद भण्डारीले ४ रन बनाए । किशोर महतो ८ र सागर ढकाल २ रनमा अविजित रहे । 

हरिकेन्सका मोहम्मद इलियासले १० ओभरमा ६४ रन दिएर ५ विकेट लिए । हरमित सिंहले १० ओभरमा १ मेडनसहित २६ रन दिएर २ विकेट लिए । हसन रशिदले एक विकेट लिए । 

हरिकेन्सका निनाद निमबाल्करले सबैभन्दा धेरै ९९ रनको योगदान दिए । रामिज राजाले २९ रन बनाउँदा आन्द्रेस गौसले २८ रन बनाए । गौरब बजाजले १५, उस्मान रफिकले १२, नितिश कुमारले १० रन बनाए । 

नेपालका सोमपाल कामीले ८.३ ओभरमा ३८ रन दिएर ५ विकेट लिए । किशोर महतो र सागर ढकालले समान २ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो । 

नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ ।