close

जब केनले खेलको अन्तिममा गोल गरे

जब केनले खेलको अन्तिममा गोल गरे

Trulli
ADVERTISEMENT

यूईएफए नेसन्स लिगअन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा जर्मनी र इंग्ल्याण्ड १-१ गोलको बराबरीमा रोकिएका छन् ।

खेलको ५० औँ मिनेटमा जोनास होफम्यानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । 

खेल सकिन दुई मिनेट बाँकी छँदा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा रोकेका हुन् ।

योसँगै केन इंग्ल्याण्डका लागि ५० गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । 

उनले इंग्ल्याण्डका लागि सर्वाधिक गोलकर्ताको सूचीमा सर बबी चार्लटनलाई उछिनेका छन् भने वेयन रुनीभन्दा मात्र ३ गोलले पछि रहेका छन् ।

नेसन्स लिगमा इंग्ल्याण्डले पहिलो पटक अंक बटुलेको हो । यसअघि शनिबार इंग्ल्याण्ड हंगेरीसँग पराजित भएको थियो ।

गएराति नै सम्पन्न समूह 'सी' कै अर्को खेलमा इटलीले हंगेरीलाई हराएको छ । इटलीस्थित स्टेडियो डिनो मनुज्जीमा सम्पन्न खेलमा घरेलु टोलीले हंगेरीलाई २-१ गोलअन्तरले हराएको हो ।

इटलीको जितमा निकोलो बरेला र लोरेन्जो पेल्लेग्रिनीले गोल गर्दा हंगेरीले जिआनलुका मानचिनीको आत्मघाती गोलमा खाता खोलेको थियो ।

योसँगै समूहको दोस्रो चरणको खेल सकिँदा ४ अंक जोडेको इटली शीर्षस्थानमा रहँदा ३ अंक जोडेको हंगेरी दोस्रो, २ अंक जोडेको जर्मनी तेस्रो र १ अंक जोडेको इङ्ग्ल्याण्ड चौथो स्थानमा छन् ।