close

कीर्तिपुरमा बाघचाल प्रतियोगिता सुरु

कीर्तिपुरमा बाघचाल प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली मौलिक खेल बाघचालको प्रवद्र्धन गर्ने उद्देश्यले कीर्तिपुरमा सोमबारदेखि प्रथम सानुमाया शेरबहादुर स्मृति खुला बाघचाल प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिताको पहिलो दिन चार चरणसम्मका खेलहरु सकिएका छन् । ती खेलबाट पानभाइ भोटे, हरिचन्द्र तामाङ, असल प्रजापति, धर्मराज, रामकृष्ण महर्जन, दामोदर प्रजापति, गुण्डा महर्जन, भुन्टे दुलाल, लोकेन्द्र बोहरा, प्रवेशचन्द्र श्रेष्ठ र राजकुमार पाँचौँ चरणमा प्रवेश गरेका छन् । 

यसैगरी कृष्णबहादुर महर्जन, हीरा डङ्गोल प्रेमलाल, मानवीर श्रेष्ठ, जुजुभाइ महर्जन, लक्ष्मण ताम्राकार, पञ्चुनारायण, चन्द्रबहादुर ज्याख्वा, जलजमान प्रधान र राधाकृष्ण पनि पाचौँ चरणमा प्रवेश गरेका छन् । प्रतियोगिता स्विस लिग प्रणालीबाट खेलाइएको थियो । 

उपत्यकाव्यापी सो प्रतियोगितामा विभिन्न उमेर समूहका गरी कूल ३८ जनाले भाग लिइरहेका छ्न । जसमा भक्तपुरका ११ जना, सुदूरपश्चिमका दुईजना तथा नुवाकोट, चन्द्रागिरि र बूढानीलकण्ठ नगरपालिकाका एक/एकजना छन् । केही प्रतियोगिको उमेर ८० वर्षभन्दा बढी रहेको आयोजक संस्था सघाउ नेपालका सदस्य प्रशान्त महासागरले जानकारी दिए ।

कीर्तिपुरको प्रसिद्ध १६ खुट्टे पाटीलगायत सार्वजनिकस्थलमा लोकप्रिय रहेको बाघचाल हिजो आज हराउँदै जान थालेपछि नयाँ पुस्तामा पनि यसको आकर्षण कायम राख्न प्रतियोगिताको आयोजना गरिएको सदस्य महासागरले बताए । 

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ३० हजार, २५ हजार र २० हजार नगद पुरस्कार प्रदान गरिने जानकारी आयोजकले जनाएको छ ।

कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सुनिता शाक्यले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा असोज ८ गते हुने आयोजक संस्था सघाउ नेपालले दिएको छ ।