close

भलिबल सङ्घलाई खेलकुद सामग्री प्रदान

भलिबल सङ्घलाई खेलकुद सामग्री प्रदान

Trulli
ADVERTISEMENT

काठमाडौं । घुम्टे युवा परिवार, मल्म र जापान शाखाले संयुक्त रुपमा नेपाल भलिबल सङ्घ गलकोटलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।

सङ्घको गलकोट नगर समितिअन्तर्गत ११ वटै वडाका समितिलाई दुई थान भलिबल, एक थान जाली र एउटा हावा भर्ने उपकरण प्रदान गरिएको हो ।

घुयुपका अध्यक्ष थम्मन थापा, जापान शाखाका सचिव तुलवीर थापालगायतको उपस्थितिमा शनिबार ती सामग्री भलिबल सङ्घका जिल्ला अध्यक्ष योगेश भण्डारी र सङ्घका नगर अध्यक्ष हुम थापालाई हस्तान्तरण गरिएको थियो । खेलकुद सामग्री एक लाख ५० हजार बराबरका रहेको जनाइएको छ ।

राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै ग्रामीण भेगका खेलाडीलाई प्रोत्साहन मिलोस् भनेर खेलकुद सामग्री सहयोग गरिएको घुयुप जापान शाखाका अध्यक्ष दिनेश थापाले बताए । 

उनले जापानमासमेत भलिबलसहितका खेल गतिविधिमा शाखा क्रियाशील रहेको उल्लेख गरे । 

सङ्घका जिल्ला अध्यक्ष भण्डारीले सुविधा र स्रोतसाधनको अभाव झेलिरहेका ग्रामिण तहका खेलाडीलाई लक्ष्य गरी घुयुपले खेलकुद सामग्री प्रदान गरेकामा खुसी व्यक्त गरे । 

अध्यक्ष भण्डारीले खेलाडीको व्यावसायिक सुरक्षा र संरक्षणमा राज्यले यथोचित ध्यान पुर्या‍उन नसकेको गुनासो गरे । 

सामाजिक संस्थाका रुपमा स्थापित घुयुपको केन्द्रीय कार्यालय गलकोट नगरपालिका–७ मल्ममा रहेपनि यसका शाखा अरु जिल्ला र विदेशमासमेत क्रियाशील छन् ।

खेलकुद प्रवद्र्धन र मानवीय सेवाका क्षेत्रमा केन्द्रित जापान शाखाले केही महिनाअघि जापानमै ‘सिल्भर रनिङ कप’ खुला पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरेको थियो ।