close

‘सहिद उद्यान’ अन्तिम चरणमा

‘सहिद उद्यान’ अन्तिम चरणमा

Trulli
ADVERTISEMENT

सिन्धुली । ताराखोला गाउँपालिकाको केन्द्र अर्गलभन्दा केहीमाथि पट्टि अग्लो पहाड छ । यही अग्लो पहाडको टुप्पोमा समथर भू–भाग छ । जहाँ सशस्त्र द्वन्द्वका बेला निकै चहलपहल हुन्थ्यो । ताराखोला गाउँपालिका–२ मा पर्ने यस ठाउँ गयार चिनारडाँडाले परिचित छ । 

घनाजङ्गल र रमणीय रहेको चिनारडाँडामा द्वन्द्व सकिएपछि लामो समय सुनासन बन्यो । अहिले ताराखोला गाउँपालिकाले फेरि त्यस क्षेत्रमा मानिसहरुको चहलपहल बढाउन सहिद उद्यान निर्माण गर्न थालेको छ । 

तत्कालीन नेकपा (माओवादी) को जनमुक्ति सेनाको तालिम केन्द्रका रुपमा रहेको चिनारडाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहिदको सम्मानका लागि ‘सहिद उद्यान’ निर्माण गर्न थालेको छ । उद्यानसँगै यहाँ पर्यटन पूर्वाधारसमेत निर्माण गरिँदै छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि यहाँ उद्यान निर्माणको थालनी गरेको थियो । सहिद उद्यानले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयवासीको भनाइ छ । 

उद्यानमा सशस्त्र युद्धका बेला ज्यान गुमाएका ३१ जनाको सालिक राखिने छ । द्वन्द्वका बेला ताराखोला गाउँपालिकाबाट ज्यान गुमाएका र बेपत्ता भएका २७ जना गरी ३१ जनाको सालिक यहाँ राखिने वडा नं २ का अध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए। 

उद्यान र सालिक निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ४० लाख विनियोजन गरेको छ । यस बजेटबाट यस वर्ष सालिकासँगै पोखरी, प्रतीक्षालय, स्लेट ढुङ्गा बिच्छाइएको पदमार्ग लगायतका संरचना निर्माण गरिने उनी बताउँछन् ।  अहिलेसम्म धेरै संरचना निर्माण भएको उनको भनाइ छ ।

  'यो ऐतिहासिक ठाउँ हो, यस अहिलेसम्म ओझेलमा परेको थियो यसलाई प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले तीन वर्षअगाडि नै एउटा योजना भएका थियौँ सोही अनुसार अहिले काम भइरहेको छ । विशेषगरी यहाँ जनयुद्धमा ज्यान गुमाउनुभएका सहिदहरुको सालिक राखिने छ', अध्यक्ष घर्तीले भने, 'यस क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको हुँदा प्रवद्र्धन गर्नुपर्छ भनेर लागेका छौँ । अहिले पर्यटन पूर्वाधार पनि बनिरहेको छ । धेरै वर्ष सुनसान बनेको यस ठाउँ फेरि एक पटक पर्यटकको चहलपह हुन्छ भन्ने लागेको छ ।'

    उनले पर्यटकको सहजताका लागि पदमार्ग र मोटरबाटो दुवै निर्माण भएको बताए । पार्क वरपर नै पिकनिक स्पटसमेत निर्माण गरिने बताए। समुन्द्री सतहदेखि करिब दुई हजार तीन सय मिटरको उचाइमा रहेको चिनारडाँडादेखि देखिने दृश्यले आगन्तुकलाई थप आकर्षित गर्ने अध्यक्ष घर्ती बताउँछन्। उद्यान करिब सात रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उनको भनाइ छ ।

    ताराखोला गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्ती मगरले यस क्षेत्रमा उद्यानसँगै तत्कालीन जनयुद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गरिने बताए । आफ्नो कार्यकालमा सुरुआत भएको कामले अहिले गति लिन थालेको जनाउँदै अबको केही समयमा सहिद उद्यान अवलोकन आन्तरिक तथा बाह्य पर्यटक आउने उनको भनाइ छ ।

    उनले भने, 'तत्कालीन द्वन्द्वमा आफ्नो ज्यानको बलिदानी गर्नुभएका सहिदको सम्मानका लागि सहिद पार्क बनायो योजना थियो । सोही अनुसार अहिले काम भइरहेको छ ।यो ठाउँलाई जनयुद्धको अध्ययन गर्ने गन्तव्यका रुपमा विकास गरिने योजना छ । ठाउँ पनि निकै रमणीय छ । पालिकाको केन्द्रभन्दा टाढा पनि भएन । नजिकै छ, त्यसले गर्दा पालिकामा आउने पाहुनाहरु पनि यहाँ आउने र अवलोकन गर्न सक्नेछन् । ठूलो बजेट लाग्ने हुँदा दीर्घकालीन योजनाअन्तर्गत राखेका थियौँ । यसको सम्पन्न हुन केही समय लाग्छ । तीन वर्ष अगाडिदेखि सुरु भएको पार्क निर्माणले अहिले गति लिएको छ, यही गतिमा काम हुँदै गए सम्पन्न हुन धेरै समय नलाग्ला ।'