close

गाेठ गाेठमा वडाकाे पशु प्राविधिक

गाेठ गाेठमा वडाकाे पशु प्राविधिक

Trulli
ADVERTISEMENT

इलाम - देउमाई नगरपालिका–४ ले किसानका लागि दुई पशु प्राविधिक निःशुल्क खटाएको छ । पशुको कृत्रिम गर्भाधारणका लागि वडाकै बजेटबाट दुई पशु प्राविधिक खटाइएको हो । 

यसवर्ष पशुमा लाग्ने रोग लम्पी स्किनको महामारीबाट धेरै किसानका पशु मरेको तथा बिरामी परेका कारण किसानलाई राहतस्वरुप प्राविधिक कर्मचारी खटाइएको वडाध्यक्ष भीमलाल खनालले बताए । उनले नश्ल सुरधारमा समेत किसानलाई यस कार्यक्रमले राहत मिल्ने विश्वास लिएको बताए ।

लम्पी स्किनको सङ्क्रमणले किसानका पशु बिरामी परेको तथा मरेका कारण पनि किसानलाई पशुमा गर्भाधारणमा समस्या हुँदै आएको थियो । यो कार्यक्रमले किसानलाई समेत राहत मिलेको छ । 

गाईभैँसीको कृत्रिम गर्भाधारणमा किसानले कुनै प्राविधिक बापतको रकम तिर्नु पर्दैन । उन्नत जातका पशु उत्पादनमा वडावासीलाई हौसला बढाउनसमेत यो कार्यक्रमले फाइदा मिल्ने विश्वास लिइएको छ । यस कार्यक्रमले किसानले राहत पाएको महसुस गरे यसलाई निरन्तरता दिइने वडाध्यक्ष खनालले बताए । 

यस वडामा बजार क्षेत्र भए पनि उत्तिकै मात्रामा पशुपालन गर्ने किसानसमेत छन् । याक्सी, मझुवा, धुसेनीको माथिल्लो क्षेत्रमा बढी पशुपालन हुँदै आएको छ । किसान मैत्री काम गर्न वडा तथा पालिकाले लाग्नुपर्ने भएकाले पनि सो कार्यक्रमको सुरुवात गरिएको वडा कार्यालयले जनाएको छ । कृषिसँगै स्वास्थ्य, शिक्षा, सडक, पर्यटन लगायतका क्षेत्रमा समेत वडाले थप नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ ।