close

९५ प्रतिशत अनुदानमा पशु बीमा

९५ प्रतिशत अनुदानमा पशु बीमा

Trulli
ADVERTISEMENT

बर्दिया - ठाकुरबाबा नगरपालिकाले ९५ प्रतिशत अनुदानमा पशुको बीमा गर्ने भएको छ । पशुपंछीको मृत्युबाट कृषकहरुको क्षति कम गर्नको लागि नगरपालिकाले पशु बीमा गर्न लागेको हो । 

नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास उपशाखाका छैटौं अधिकृत अमरबहादुर शाहीका अनुसार बीमाको लागि नेपाल सरकारले ८० प्रतिशत, स्थानीय सरकारले १५ र ५ प्रतिशत कृषकले व्यहार्नुपर्नेछ । पशु बीमाको लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार नगरपालिका नजिकै जंंगल भएकाले जंगली जनावरले पशुलाई आक्रमण गरी धेरै क्षति हुने गरेको छ । साथै लम्पिस्किन तथा विभिन्न रोगबाट धेरै पशु मर्ने र सो क्षति कम गर्नको लागि बीमा कार्यक्रम सञ्चालनमा ल्याएको  उनले बताए । 

नगरपालिकाले पशुलाई प्राथमिकतामा राखी चालू आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले सुनाए । सो रकममार्फत लम्पिस्किन रोग नियन्त्रणको लागि खोप तथा सामग्री वितरण, कृषकलाई क्षमता अभिवृद्धि कार्यक्रम, खोर तथा पशुपालन तालिम, व्यावसायिक फार्मलाई अनुदान तथा विविध कार्यक्रम सञ्चालन गरिने उनले सुनाए । 

उनका अनुसार नगर क्षेत्रभित्र कुनै पनि कलकारखाना तथा उद्योग नभएकोले पशुपालनमार्फत आयआर्जन वृद्धि गर्नको लागि पशु तथा मत्स्यपालनलाई प्राथमिकता दिएको हो ।