close

एउटै गाउँपालिकाबाट वार्षिक सात सय भैंसी र राँगाे विक्री

एउटै गाउँपालिकाबाट वार्षिक सात सय भैंसी र राँगाे विक्री

Trulli
ADVERTISEMENT

सर्लाही - पर्सा गाउँपालिकाले गाई भैंसीको निःशुल्क कृत्रिम गर्भाधान गराउँदै आएको छ । गाउँपालिकाले स्थानीय पशुपालक कृषकको सहजताको लागि कृत्रिम गर्भाधान गराउँदै आएको हो । 

गर्भाधानको लागि पशुपालक कृषकले पालिकामा सम्पर्क गर्न सक्ने गाउँपालिकाका पशु शाखाका प्रमुख परियार रायले पालिकाखबरलाई बताए । गाउँपालिकामा पशु पालक कृषक धेरै भएकोले सो कार्यक्रम नियमित सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

उनका अनुसार गाउँपालिकाले वार्षिक रुपमा ६ सयदेखि ७ सय भैंसी तथा राँगो विक्री गर्दै आएको छ । स्थानीय बासिन्दा आफैँले व्यापारी तथा बजारमा लगेर विक्री गर्ने उनले सुनाए । ‘छिमेकी पालिकामा हाट बजार लाग्छ । केहीले त्यही लगेर बेच्नुहुन्छ,’ उनले भने, ‘केहीले व्यापारीसँग सम्पर्क गरेर बेच्नुहुन्छ ।’

बजारीकरणका लागि साविक गाउँ विकास समितिले हाटबजार सञ्चालन गरेपनि ग्राहक नआएकोले हाल गाउँपालिकाले सोबारे कुनै नीति नबनाएको उनले सुनाए । गाउँपालिकाले पशुपालनका लागि व्यवसायिक फार्म दर्ता गराए पनि खरिदका लागि कुनै कार्यक्रम नल्याएको उनले सुनाए । 

'खरिदका लागि गाउँपालिकाले ऋणको व्यवस्था गरेको छैन,' उनले भने, 'सहकारी तथा बैंकबाट ऋण उपलब्ध गराउनका लागि सहजीकरण गर्न सक्छ ।' गाउँपालिकाले पशुको लागि औषधी वितरण गर्ने गरेको सुनाए । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा पशु शाखाको लागि १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।