close

हल गोरु पाल्नेलाई मादीको १० हजार रुपैयाँ अनुदान

हल गोरु पाल्नेलाई मादीको १० हजार रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

कास्की - मादी गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई अनुदान दिने भएको छ । गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई सहजताको लागि दश हजार रुपैयाँ अनुदान दिन लागेको हो । 

गाउँपालिकाको पशु सेवा प्राविधिक भूपेन्द्र विसीका अनुसार सो कार्यक्रमको लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दाले गोरुको प्रयोगबाट खेत र बारी जोत्ने भएकाले कृषकको सहजताको लागि सो रकम वितरण गर्न लागेको उनले पालिकाखबरलाई बताए । 

अनुदानको लागि गाउँपालिकाले गोरु पाल्ने कृषकको आवेदन माग गरेको उनले सुनाए । हालसम्म ७५० जना स्थानीय बासिन्दाले आवेदन दिएको उनको भनाइ छ । 'हामीले चालु आवदेखि मात्रै यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ,' उनले भने, 'पैसा नपुगे कार्यपालिका बैठकबाट थप बजेटको व्यवस्थापन गर्ने छौँ।'

गाउँपालिकाले कृषिमा आधुनिकीकरणका लागि ट्याक्टरमा अनुदान दिएको उनले बताए । तर गाउँपालिकामा केही कृषकले मात्रै ट्याक्टर प्रयोग गर्ने उनको भनाइ छ । 

गाउँपालिकामा पशु पालनलाई प्रोत्साहन दिनको लागि मासु र दूधमा अनुदान कार्यक्रम सञ्चालन गरेको उनले सुनाए । एक हजार लिटर दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर १० रुपैयाँ, खसी तथा विभिन्न पशु बेच्नेलाई प्रतिगोटा ५०० रुपैयाँ प्रोत्साहन रकम वितरण गर्ने उनले बताए । 

गाउँपालिकाले पशुको लागि हिउँदे घाँसको बीउ वितरण, गोठ सुधार कार्यक्रम तथा रेविजविरुद्धको खोप वितरण कार्यक्रम सञ्चालन गर्ने उनले सुनाए । गाउँपालिकामा भेडा पाल्ने कृषकको लागि भेडी गोठ प्रविधि नियन्त्रण गर्ने उनको दावी छ । 

उनका अनुसार गाउँपालिकाभित्र करिब ६० वटा व्यावसायिक पशु फार्म सञ्चालनमा रहेका छन् । यस्तै करिब ९० प्रतिशत स्थानीय बासिन्दाले निर्वाहमुखी पशुपालन गर्दै आएका छन् ।