close

छाडा छाडिएको गाईको संरक्षणमा रामपुर नगरपालिका

छाडा छाडिएको गाईको संरक्षणमा रामपुर नगरपालिका

Trulli
ADVERTISEMENT

पाल्पा– रामपुर नगरपालिकाले सडकका छाडा गाई बाच्छाको संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ देखि गौशला निर्माण गरेर सडकका गाई बाच्छाको संरक्षण गरेको हो । 

नगरपालिकाले व्यवस्थापन समिति गठन गरेर छाडा गाईबाच्छाको संरक्षण गरेको पालिकाका पशु विकास अधिकृत तुलसी राम काफ्ले बताउँछन् । उनका अनुसार कालीगण्डकी तटमा रहेको तातोपानी धाम लक्ष्मीनारायण मन्दिर अगाडि करिब सात रोपनी क्षेत्रफलमा व्यवस्थित तरिकाले गाईको संरक्षण गरिएको छ । 

गौशलामा १५० वटा भन्दा बढी गाईको संरक्षण गरिएको उनले पालिकाखबरसँग बताए । उनले भने, ‘विशेषगरी छाडा छाडिएको गाईलाई गौशलामा संरक्षण गरिन्छ । गाई पाल्न नसक्ने स्थानीयले आफ्नो गाई पनि पैसा तिरेर गौशलामा पाल्न दिन्छन् ।’ पाँच हजार एक सय तिरेर स्थानीय गौशलामा आजीवन सदस्य बन्न सक्ने उनले जानकारी दिए । 

गौशलाको संरक्षणमा रहेका गाईहरुलाई दिउँसो खुला स्थानमा चराउने र घाँस पराल दिने व्यवस्था मिलाईएको छ । साँझमा दानापानी दिएर बास बस्न सुरक्षित गोठ निर्माण गरिको उनले बताए । गौशला व्यवस्थापन समिति निर्माण गरेर सो मार्फत गाईको हेरचाह गर्ने कर्मचारी राखिएको उनले जानकारी दिए । उनले भने, ‘तीन जना कर्मचारीले गाईको दाना पानी, रेखदेखको काम गर्छन् ।’

गौशलाको आर्थिक पक्षको सम्पूर्ण व्यवस्थापनबाट हुने गरेको उनले बताए । उनको अनुसार गौशला सञ्चालनको लागि चालु आर्थिक वर्ष २०८०/८१ मा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।