close

दिक्तेल रुपाकोटकाे फोहर व्यवस्थापन गर्ने जिम्मेवारी निजी क्षेत्रलाई

दिक्तेल रुपाकोटकाे फोहर व्यवस्थापन गर्ने जिम्मेवारी निजी क्षेत्रलाई

Trulli
ADVERTISEMENT

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मेवारी दिएको छ । आफैँले व्यवस्थापन गर्दा महँगो पर्ने भएपछि  नगरपालिकाले निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मेवारी दिएको हो । 

नगरपालिकाले निजी क्षेत्रलाई २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएर फोहर व्यवस्थापनको जिम्मेवारी दिइएको नगरपालिकाका प्रमुख तिर्थराज भट्टाराईले बताए ।

उनले भने, ‘हामी निर्वाचित भएर आउनुभन्दा पहिले नगरपालिकाको वार्षिक ७२ लाख रुपैयाँभन्दा धेरै खर्च फोहर व्यवस्थापनमा हुने गरेको रहेछ । डम्पिङ साइडमा जाने बाटो बनाउँदा, कर्मचारी, ट्याक्टर खर्च, इन्धनआदि गर्दा त्यति खर्च भएको देखियो । त्यो अत्याधिक खर्च भएको महसुस गरे २५ लाख रुपैयाँ अनुदान दिएर  निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मेवारी दियौँ ।’ टेन्डर आह्वान गरेर फोहर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई उपलब्ध गराएको उनले पालिकाखबरलाई जानकारी दिए । 

फोहर व्यवस्थापनलाई थप व्यवस्थित गर्न खोजिएको उनले बताए । कम्पोष्ट मल उत्पादन गरेर फोहर व्यवस्थापन गर्ने विषयमा सोचिरहेको उनले जानकारी दिए । फोहोर संकलनबाट प्राप्त हुने प्लाष्टिकजन्य वस्तुलाई पुनः प्रयोग गर्नका लागि खोलिने  उद्योगका लागि निजी क्षेत्रलाई प्रोत्साहन सहयोग गर्न नीति निर्माण गर्ने योजना पालिकाको छ । 

दिक्तेल बजारलगायत बजार क्षेत्रका विभिन्न स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने नीति नगरपालिकाले लिएको छ।  बजार केन्द्रको सरसफाईमा जोड दिँदै सफा र शुन्दर नगर बनाउने अभियान सञ्चालन गर्ने योजना रहेकाे नगरप्रमुख भट्टराईले बताए । 

उनकाे अनुसार दिक्तेल बजार, बाम्राङ, मुडे, मुन्थला, सोल्मान आदि बजार क्षेत्रबाट नगरपालिकामा सबैभन्दा धेरै फोहोर उत्पादन हुन्छन् । बजार क्षेत्रमा हप्ताको एकदेखि दुईपटक फोहर संकलन हुने गरेको उनले बताए । वडा नं ४ को खाल्डेमा नगरपालिकाको डम्पिङसाइट छ ।