close

पकुवा खोलाको सफलतापछि निशाने खोलाको श्रमदानमा मेयर साम्पाङ

पकुवा खोलाको सफलतापछि निशाने खोलाको श्रमदानमा मेयर साम्पाङ

Trulli
ADVERTISEMENT

सुनसरी । सामाजिक अभियन‍्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज साम्पाङ यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिरहेका छन् । धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उनले अभियान नै सुरु गरेका छन् । उनको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन् । 

धरानको नेतृत्वमा नआउँदासम्म उनी हप्ताको सातै दिन जनताको कामका लागि सडकमा देखिन्थ्यो । त्यसबेला उनले गरेको काम र अभियानको चर्चा खासै थिएन । कतिपय उनले चलाएको अभियानमा असफल पनि भए साम्पाङ । तर उनी सफलता नै सफलताको कडी हो भन्ने बुझेर उनले आफ्नो अभियान निरन्तर जारी राखे । 

दक्षिण एसियाको उत्कृष्ट अस्पताल तथा शिक्षण संस्था विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बेथिति र जनताले स्वास्थ्य उपचार सेवामा भोग्नुपरेको समस्या समाधानका लागि उनले अभियान चलाए । खानेपानी समस्याका विषयमा उनको अझ बढी चासो र चिन्ता थियो । खानेपानी बोर्डका कार्यकारी निर्देशक, तत्कालीन नगर प्रमुख तिलक राई, धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई उनले टेलिफोनमा थर्काएका भिडियो जनताले प्रत्यक्ष हेर्न पाएका थिए । जनताका लागि पदमा बसेका व्यक्तिलाई गरेको खबरदारीले धराने जनताबाट पाएको गहिरो सहानुभूतिले उनलाई प्रमुख भएर त्यही समस्या समाधान गर्ने स्थानमा पुर्‍यायो । 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा करिब पाँच हजार मतान्तरले धरान उपमहानगरपालिकाको प्रमुखमा सानदार जीत निकाल्न सके । धरानको कुल मतदाता एक लाख ३२४ जना रहेकामा ६२ हजारले मतदान गरेका थिए । त्यसमध्ये २० हजार ८२१ मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पन्छाएर स्वतन्त्र उम्मेद्वार साम्पाङलाई मत दिएका थिए । आर्थिक अवस्था त्यति राम्रो नभएका उनलाई चुनाव खर्च पनि उनकै समर्थकले जुटाइदिएका थिए । 

नेतृत्वमा पुगेपछि जनतासँग गरेको वाचा मात्र बिर्सने कतिपय नेताहरूका लागि उनी प्रमुखमा जित्दै गर्दा यस विषयमा निकै सचेत देखिए । उनी प्रमुखको कुर्सीमा बसेपछि पनि धराने जनताको साथ लिएर सडकमै उत्रिएका छन् । जनता पनि उनको साथ छाडेका छैनन् र उनका समर्थक, शुभचिन्तक अझ बढेको बताउछन् अभियानका सहयोगी हरि श्रेष्ठ । तीन लाख जनसङ्ख्या बस्ने धरानमा विगतका जनप्रतिनिधिले खानेपानीको विषयमा कसैले ध्यान नदिएको लिएको ऋणको पनि सदुपयोग नभए पनि जनताले स्वतन्त्र उम्मेदवारलाई रोजेको उनको भनाइ छ ।  

उनले आफ्नो सम्पूर्ण समय पदीय जिम्मेवारीमै लगाएका छन् । साताको दुई दिन शुक्रबार र शनिबार समर्थक र शुभचिन्तकका साथमा कार्यस्थलमै जान्छन् भने बाँकी दिन उपहानगरको दैनिक र प्रशासनिक कामका लागि दिन्छन् । उनले निर्वाचनमा प्रतिबद्धता जनाएको काम निर्वाचित भएर पदभार ग्रहण गरेकै दिनदेखि कार्यान्वयनका लागि लागे । 

धरानको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या समाधान गर्न पानी व्यवस्थापनका लागि उनले यतिबेला आफ्नो बढी समय खर्चिएको स्थानीयवासी बताउँछन् । उनले दैनिक गर्ने हरेक कामको जनतालाई आफ्नो फेसबुक पेजबाट जानकारी गराउँदै आएका छन् । आफूले जिताएको जनप्रतिनिधिले के गर्दैछ भन्ने जानकारी फेसबुक पेजबाट जनताले थाहा पाउँदा मतदाता पनि खुसी लागेको धरान १५ का विष्णु लिम्बू बताउँछन् । उनी भन्छन्, “त्यही सूचनाका आधारमा जनता आफ्ना जनप्रतिनिधिको काममा सहयोग गर्न जाने गरेका छौँ ।” 

नगर प्रमुख भएर आउनेबित्तिकै उनले खानेपानी स्रोत व्यवस्थापनका लागि प्राविधिक टोलीसहित स्थलगत अध्ययन गरे । धरानका साना खोला र सप्तकोसीबाट पानी ल्याउन अध्ययनका लागि गएका थिए । उनले धरानको वडा नं २० मा पर्ने पकुवा खोलामा खेर गइरहेको पानी व्यवस्थापन गर्न पहिलो अभियान चलाए । फेसबुकबाट श्रमदानको आह्वान र पाइप सहयोगका लागि गरेको आह्वानले देश विदेशमा रहेका धराने जनताले सहयोग गरे । धरानमा हुनेले श्रमदान र विदेशमा हुनेले आर्थिक सहयोग गरे । 

शनिबार, शुक्रबार र अन्य सार्वजनिक बिदाका दिन प्रमुख आफैँ पुगेर श्रमदान गरे । अन्य दिन धराने जनताले श्रमदान गरेर तीन हप्ताको मेहनतमा पहाड छेडर पकुवाको पानी पाइपमार्फत सर्दुखोला हुँदै धरान–११ स्थित पानेपानीको ट्याङ्कीसम्म जोडिएको छ । सरकारी बजेट हुने हो भने यो करिब ६०/७० लाखको योजना हुने प्राविधिकले बताएका छन् । 

पकुवा खोलाको पानी खानेपानीको ट्याङ्कीसम्म ल्याउन सफल भएपछि प्रमुख साम्पाङ सामाजिक सञ्जालबाटै आह्वान गरेर धरान–४ बाट बग्ने निशाने खोलाको पानी व्यवस्थापनमा लागेका छन् । एक सातादेखि उनी धराने जनतासँगै श्रमदान गर्दै आएका छन् । पर्यावरण सन्तुलन कायम गर्न साप्ताहिक रुपमा उनी वृक्षरोपण कार्यक्रम बनाएर पाखाभित्तामा फलफूलका बोटबिरुवा रोप्दै आएका छन् । वन, जङ्गल अभाव र भएको वन जङ्गलमा चराचुरुङ्गी, बाँदरलगायत पशुपक्षीले खाने आहाराको अभावले बाँदर सहर पसेको र अन्य पशुपक्षी मासिएको उनको बुझाइ छ । त्यही भएर उनी वृक्षरोपण कार्यक्रममा पनि उत्तिकै समय दिँदै आएका छन् । शुक्रबार उनी सार्वजनिक रुपमा लागूऔषधसम्बन्धी सचेतना जगाउन धरानका चोकमा नियमित ‘प्ले कार्ड’ बोकेर ‘नो ड्रक्स’ को अभियान पनि चलाइरहेका छन् । 

प्रमुख साम्पाङले भविष्यमा कोसीको पानी धरान ल्याउने योजना रहेको र अध्ययन भइरहेकाले उक्त पानीलाई ठूलो जलाशय बनाएर जम्मा गर्ने र त्यसबाट नै बिजुली पनि निकाल्ने आफ्नो अवधारणा सुनाए । त्यसका लागि जलाशय बनाउन भनेर प्रस्तावित ठाउँसम्म प्राविधिक, इञ्जिनीयरलाई अवलोकन गराएका छन् । 

पूर्वाञ्चल प्राविधिक कलेका इञ्जिनीयरले कोसीको पानी जम्मा गर्न जलाशय बनाउने ठाउँ उपयुक्त भए पनि त्यस स्थानको सोइल टेष्ट गरेर मात्रअघि बढ्न सुझाव दिएको छ । अहिले वर्षाको समयमा पनि सर्दु खोलाको पानीबाट ४० किलोवाट बिजुली उत्पादन गर्न सकिने र हिउँदमा पाँच/छ किलोवाटसम्म बिजुली उत्पादन गर्न सकिने सुझाव दिएको प्रमुख साम्पाङले बताए । पकुवा खोलामा जनश्रमदान गरेर पानी ल्याउने प्रमुख साम्पाङको योजना सफल भएपछि कोसी राजमार्गको धरान धनकुटे सडकखण्डमा पर्ने निशाने खोलामा पनि श्रमदान अभियान सुरु गरिएको छ । 
    
जङ्गलमा जमिनमुनिको पानी तान्ने पम्प महिनामा दुई/तीन पटक बिग्रिने र एउटा पम्प बनाउन दुई लाखसम्म खर्च हुने गरेको छ । वर्षायाममा खोला खोल्सीमा भएको सतहको पानी ल्याउनसके पम्प चलाइरहन नपर्ने र वर्षायामभरि पम्प बिग्रेर बनाउनु नपर्ने तथा बिजुली चलाएको खर्च जोगिने प्रमुख साम्पाङले बताउँछन् । दीर्घकालीन समाधान भने कोसीबाट पानी ल्याउनैपर्ने उनी बताउँछन् । 

उनी खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा आफ्नो स्थान बनाउन सङ्घर्षरत पात्र हन् । विसं २०३९ फागुन १५ गते खार्ताम्छामा जन्मेका साम्पाङ त्यहीँको शुक्रबारे माविबाट एसएलसी गरेर २०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरे  ।

अध्ययनकै क्रममा उनले धरानमा एउटा ल्याङ्ग्वेज सेन्टरमा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसमा पनि चित्त नबुझेपछि अफगानिस्तान जगएका उनी त्यहाँबाट फर्किएर पुनःइराकतिर लागे । 

विदेशमा ६ वर्ष काम गरेपछि नेपाल फर्किएका उनी देशमै केही गर्नुपर्छ भनेर सामाजिक काममा लागे । धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गमा परेका स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनको चर्चा सुरु भएको हो । सडक विस्तारका नाममा नगरवासीलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएसँगै उनको परिचय फैलियो र धेरैले उनलाई जनताका पक्षमा बोल्ने अगुवाका रुपमा चिन्न थाले ।

धरानको खानेपानी आयोजना, विपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पारे । दलको कामबाट दिकदार भएका धराने जनता फाट्टफुट्ट उनको आन्दोलनमा साथ दिन थाले । उनको आन्दोलनबारे राजनीतिक दल, सञ्चारमाध्यामले कुनै चासो नदिए पनि उनी निरन्तर खबरदारीमा लागिरहेका थिए । 

राजनीतिक दल र नेताहरू सुध्रिनुपर्छ, भ्रष्टाचार, कमिसन र लुट शासनको अन्त्य हुनुपर्छ भन्ने उनको मान्यता रहेको छ । यस्ता विषयमा उनी निरन्तर फेसबुकमा लाइभ गर्दै आएका छन् । प्रमुख भएपछि पनि उनी सार्वजनिक चासोका विषय, धरान उपमहानगरपालिकाले गरिरहेको गतिविधि नियमित सामाजिक सञ्जालमार्फत जानकारी गराइराखेका छन् ।