close

सहिदलाई भीमदत्तको सम्मान, बन्यो आदर्श बस्ती 

सहिदलाई भीमदत्तको सम्मान, बन्यो आदर्श बस्ती 

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका–२ मा रहेको सहिद भीमदत्त पन्तको कारीगाउँलाई आदर्श बस्तीको रुपमा विकास गर्न नगरपालिकाले अग्रसरता देखाएको छ ।

अमरगढी नगरपालिकाले सहिद भीमदत्त पन्त जन्मेको कारीगाउँलाई आदर्श बस्तीको रुपमा विकास गर्ने प्रक्रिया सुरु गरेको हो ।

‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्त किसान आन्दोलन गरेका ‘किसान नेता’ पन्तलाई तत्कालीन शासकले फाँसीमा चढाएका थिए । 

किसान र गरिब मजदुरको हितमा आवाज उठाएका सहिद पन्तको गाउँलाई आदर्श वस्तीको रूपमा विकास गर्न सुरु गरिएको अमरगढीका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।

स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि नगरप्रमुख ओझाले भीमदत्त आदर्श बस्तीको अवधारणा अघि सारेका थिए । पन्तको गाउँलाई आदर्श बस्तीको रूपमा घोषणा गरे पनि काम अगाडि बढ्न सकेको थिएन । 

आर्थिक स्रोत अभावमा विगतमा प्रगति हुन नसके पनि अहिले संघीय सरकारको पर्यटन पूर्वाधार विकास आयोजनामार्फत ७२ लाख रुपैयाँको लागतमा उक्त कार्य प्रारम्भ गरिएको नगरपालिकाका इन्जिनियर कवीन्द्र विष्टले बताए ।

‘पहिलो पटक नेपाली समाजको सामन्ती संस्कारविरुद्ध आप्mनै घरबाट विद्रोह गर्ने  सहिद पन्तको जीर्ण बनेको घरलाई पुनर्निर्माण गर्ने काम सरु भएको छ’, नगरउपप्रमुख संगीता भण्डारीले भनिन् । त्यसका लागि पन्तको गाउँ जाने सडक निर्माण सुरु भइसकेको उनले बताइन् ।

कारीगाउँ प्रवेशद्वार ६ वर्षदेखि निर्माणाधीन रहेकाले निर्माण अगाडि बढाइएको नगरप्रमुख ओझाले जानकारी दिए । ‘यो बस्तीलाई आदर्श बस्ती बनाउने पहिलेकै योजना हो । तर, आर्थिक तथा प्राविधिक समस्याका कारण सुरु भएको थिएन,’ उनले भने ।

आदर्श बस्ती मात्रै नभएर पन्तले उठाएका विषयको सम्बोधन गर्नु पनि आफूहरूको दायित्व भएको उनको बुझाइ छ । सहिद पन्त जन्मिएको घरको पुनर्निर्माण, घरसम्म पुग्ने कच्ची सडक निर्माण र सिंगो गाँउमा बाटो निर्माण तथा भीमदत्त पन्तको घरमा संग्रहालय निर्माण भइरहेको पन्तले जानकारी दिए ।

सहिद पन्तको जन्मस्थान अमरगढी नगरपालिका–२ को कारीगाँउलाई आदर्श बस्तीका रुपमा विकास गर्ने कार्यक्रमअन्तर्गत भौतिक संरचना निर्माणको काम भइरहेको छ । कारीगाउँमा भीमदत्त आदर्श बस्ती बने पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीय प्रदीप पन्त बताउँछन् । 

‘डोटी घटाल रमणीय क्षेत्र हो । नजिकै घटाल थान, बुढी घटाल र डोटी घटालको मैदानलगाएतका पर्यटकीय क्षेत्र छन् । यी क्षेत्रको प्रचार–प्रसार पनि हुन्छ,’ उनले भने, ‘यहाँका स्थानीयले पनि रोजगारी पाउँछन् भनने यस क्षेत्रको विकास पनि हुन्छ ।’

सहिद पन्तका भाइ यदुनाथ पन्तले सहिदको सपना पूरा गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए ।