close

प्रदेश सरकारको लगानीमा नवलपरासीका सडक स्तरोन्नति  हुँदै 

प्रदेश सरकारको लगानीमा नवलपरासीका सडक स्तरोन्नति  हुँदै 

Trulli
ADVERTISEMENT

नवलपरासी– बर्दघाट सुस्ता पश्चिममा पर्ने हुलाकी मार्ग जोड्ने दुई वटा पहुँच मार्गको स्तरोन्नति कार्य अगाडि बढिरहेको छ । प्रदेश ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयलले चालू आव ०७७-७८ मा पनि सो सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिएको हो । 

मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको सुनवल तुरिया–पर्सावल–अमरौट–घिनाहा–बकेना सडक र स्थानीय तह पहुँच मार्गअन्तर्गत बासा–तुल्सीनगर–तिलकपुर–खोखरपुरा–पटनी–भिमटाडी सडक स्तरोन्नतिले प्राथमिकता पाएको हो । 

सडक स्तरोन्नतिको निर्माणाधीन योजनाअन्तर्गत पर्सावल–अमरौट–घिनाहा–बकेना सडकमा हालसम्म करिब साढे पाँच किलोमिटर बाटो कालोपत्र भइसकेको छ । आगामी आव ०७८÷७९ सम्म करिब १७ करोड खर्च गर्ने लक्ष्य लिइएको उक्त आयोजनामा हालसम्म करिब ७ करोड ५० लाख खर्च भइसकेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यस आयोजनाका लागि चालू आव ०७७-७८ मा प्रदेश सरकारबाट साढे ५ करोड बजेट विनियोजन भएको छ । कालोपत्रे हुने सडक सुनवल र रामग्राम नगरपालिकाअन्तर्गत पर्दछ । पूर्व–पश्चिम राजमार्गको सुनवलदेखि हुलाकी मार्ग भैरहवा परासी सडक खण्डअन्तर्गत रामग्राम नगरपालिकाको तोनवासम्म कालोपत्र हुने भएपछि स्थानीयलाई सहज हुने अपेक्षा गरिएको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता बताउँछन् । 

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सरावल गाउँपालिका तिकलपुरको बासा बासही हुँदै गाउँपालिकाको प्रमुख प्रशासनिक भवनसम्म जोड्ने पहँुच मार्ग विस्तारको कार्य पनि जारी छ । बासा–तुल्सीनगर–तिलकपुर–खोखपुर–पटनी–भिमटाडी हँदै करिब ८ किलोमिटर सडक कालोपत्र विस्तार गर्ने निर्माणाधीन आयोजनामा हालसम्म करिब ४ करोड खर्च भएको छ । यस आयोजनाका लागि चालू आव ०७७-७८ मा प्रदेश सरकारबाट ४ करोड बजेट विनियोजन भएको छ । 

आगामी आव ०७८-७९ सम्म आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिइए पनि यसलाई भारतीय सीमा जोड्ने गरी विस्तार गर्ने योजना रहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । सो योजनाबाट जिल्लाको ग्रामीण क्षेत्र सडक पहुँच विस्तारमा टेवा पुग्ने विश्वास लिइएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी बताउँछन् ।

प्रदेश ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीको हुलाकी मार्ग जोड्ने यी दुई वटा प्रमुख पहुँच मार्गको स्तरोन्नति कार्यलाई प्राथमिकता दिएपछि यहाँका स्थानीय खुसी छन् ।