close

पौवादुङमा गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार

पौवादुङमा गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार

Trulli
ADVERTISEMENT

भोजपुर - भोजपुरको पौवादुङमा गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्यत् विस्तार हुने भएको छ  । त्यसका लागि विद्युत् विस्तार गर्न टेन्डर आह्वान गरिएको छ । 

 

गाउँपालिकाको वडा नम्बर १ श्यामशिलादेखि वडा– ६ ठूलोदुम्मासम्म विद्युत् वितरण गर्न  टेन्डर प्रक्रिया अगाडि बढिसकेको गाउँपालिकाले जनाएको छ । यस आर्थिक वर्षभित्र विद्युत् विस्तार गरी सक्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । 

 

उज्यालो गाउँपालिका बनाउने लक्ष्यलाई पूरा गर्न विद्युत् विस्तारका लागि टेन्डर आह्वान गरिएको अध्यक्ष राईको भनाइ छ । काममा कुनै चुनौती नआए यस आर्थिक वर्षभित्र विद्युत् विस्तारको काम सम्पन्न हुनेछ । 

 

गाउँपालिकाले सबै घरमा उज्यालो पुर्‍याउनका लागि सरोकारवाला पक्षसँग समन्वय गरेर कामको थालनी गर्न लागेको उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । स्थानीय तहमा आएको बजेटले सबै ठाउँमा विस्तार गर्न सम्भव नभए पनि सरोकारवाला पक्षसँग पहल र प्रयत्न गरेर यो कामलाई सम्भव बनाएको उपाध्यक्ष राईको भनाइ छ । 


गाउँपालिकाको केही क्षेत्रमा केन्द्रीय विद्युत् प्रसारण लाइन जोडिए पनि अधिकांश दुर्गम क्षेत्रका स्थानीय विद्युत् सेवाबाट वञ्चित छन् ।  गाउँपालिकाभित्र ३ हजार बढी घरपरिवारको बसोबास छ । गाउँपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारका लागि ठूलो बजेट लाग्ने भएपछि दुर्गम क्षेत्रका स्थानीयलाई लक्षित गरेर सोलार सेटलगायतका सामग्री वितरण गरिँदै आएको छ ।

 

अहिले गाउँपालिका केन्द्र च्याङ्ग्रेको केही भाग, वडा– २ तिवारीभन्ज्याङको करिब ७० प्रतिशत एवं वडा– १ श्यामशिला र वडा– ५ सानोदुम्माको केही भागमा मात्र विद्युत् विस्तार भएको छ । 

विद्युत्का लागि जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामका लागि ९९ लाख ५३ हजार ६ सय ३३ रुपैयाँ बराबरको टेन्डर आह्वान गरिएको हो ।