close

७ मिनेटको दुरीमा पोल ओसार्न पनि हेलिकप्टर !

५० पोल ढुवानी गर्दैमा सकियो १० लाख 

७ मिनेटको दुरीमा पोल ओसार्न पनि हेलिकप्टर !

५० पोल ढुवानी गर्दैमा सकियो १० लाख 

ADVERTISEMENT

हुम्ला– कोरोना महामारीमा स्थानीय निकायले सञ्चालन गर्दै आएका विकास निर्माणअन्तर्गत विद्युत् लाइन विस्तारमा रोजगारी पाउने आशमा रहेका जिल्लाका युवा हेलिकप्टरबाट बिजुलीका पोल ढुवानी गर्न थालिएपछि चिन्तित भएका छन् ।

 

सिमकोट विमानस्थलमा राखिएका विद्युत् पोल जिल्लाका विभिन्न स्थानमा विद्युतीकरणका लागि ढुवानी गर्न महंगो भाडा तिरेर हेलिकप्टर प्रयोग गरिएपछि रोजगारी नपाएको भन्दै युवाहरु आक्रोसित छन् । 

 

जिल्लाको रायामा विद्युत पोल गाड्ने नाममा उपभोक्ता समितिले चरम लापरवाहीमात्र गरेन, बजेटको दुरुपयोगसमेत गरेको छ । बिजुलीको पोल ढुवानी गर्ने नाममा उपभोक्ता समितिले खार्पुबाट ७ मिनेट पैदल दुरीमा पुगिने खार्पुनाथ गाउँपालिकाको–२ को रायामा हेलिकप्टरबाट बिजुलीको पोल ढुवानी गरेर लोक हसाउने काम गरेको छ । 

 

नेपालगन्जबाट जहाजमा ढुवानी गरेर सिमकोट विमानस्थलमा ल्याइएका बिजुलीका पोल खार्पुसम्म गाडीमा राखेर लगिएपनि र ७ मिनेटको दूरी रायामा लैजान हेलिकप्टर प्रयोग गरिएको हो । 

 

७ मिनेटको दुरीमा पर्ने रायामा पोल लैजान हेलिकप्टरलाई प्रतिपोल १० हजार रुपैयाँ भाडा उपभोक्ता समितिले तिरेको छ । सात मिनेटको दुरीमा रहेको रायामा स्थानीय जनतालाई बोकाएरै पोलको ढुवानी गर्न सकिने भएपनि समितिले हेलिकप्टर प्रयोग गरेको हो । 

 

सात मिनेटको दुरीमा रहेको रायामा हेलिकप्टरबाट पोल लैजान प्रतिपोल १० हजार भाडा तिरेको उपभोक्ता समिति अध्यक्ष टेकबहादुर बुढाले जानकारी दिए । 
 

समितिले हाल ५० पोललाई नेपालगन्जबाट निर्माणस्थल लैजान ढुवानीबापतमात्रै १० लाख रुपैयाँ खर्च गरिसकेको छ । सडक, सवारीलगायतका विकासका पूर्वाधारबाट टाढै रहेको हुम्लामा विकासका नाममा मनपरी गरिएको यो पहिलो उदाहरण भने होइन । 

 

कोरानामा हातमुख जोड्न मुस्किल परेको अवस्थामा स्थानीय सरकारले विकास निर्माणमा युवा परिचालन गर्नुको साटो हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गर्दा रोजगारी खोसिएको रायाका युवा लालधुन टमटा बताउँछन् ।

 

स्थानीय तहबाट रायामा हाल विद्युत् पोल जडानको काम भइरहे पनि गाउँटोलका युवालाई परिचालन गरिएको छैन । विमानस्थलमा राखिएका पोल हेलिकप्टरबाट निर्माणस्थल खार्पुनाथ गाउँपालिका–२ को रायामा लगिएको हो । सडक यातायात नजोडिएको हुम्लामा विद्युत्का पोल भरियाबाट ओसार्दा ढिलो हुने भएपछि महँगो भाडा तिरेर हेलिकप्टरबाट ढुवानी गरिएको उपभोक्ता समिति अध्यक्ष बुढाको दाबी छ ।

 

विद्युत् आयोजनाको अन्य काम सकिए पनि पोल गाड्न बाँकी रहेको कारण महँगो भाडा तिरेर हेलिकप्टरबाट ढुवानी गर्नु परेको उनले बताए । राया क्षेत्रमा पोल गाड्ने काम सकिएपछि विद्युत् बल्ने उनको भनाइ छ । जिल्लामा आन्तरिक रुपमा सञ्चालन गरिने विद्युत् आयोजनाका लागि यसरी नै हेलिकप्टरबाट मेसिन तथा अन्य गह्रौं सामान ढुवानी गरिएको उनको भनाई छ । 

 

पोल ढुवानीको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ । हिल्दुङ साना जलविद्युत आयोजना, सिमकोटले विद्युत लाइन बिस्तारको काम गरिरहेको छ । आयोजनाले लाईन विस्तारको जिम्मा स्थानीय उपभोक्ता समितिलाई दिएको हो । यसका लागि आयोजनाले समितिलाई  बिजुलीको पोल, तार, जडानलगायतका लागि २५ लाख रुपैयाँ दिएको छ । समितिले भने स्थानीय जनतालाई बोकाएर ढुवानी गर्न सकिने ठाउँमा समेत हेलिकप्टरमा महंगो भाडा तिरेर १० लाख रुपैयाँ सकिसकेको छ ।