close

गाउँपालिका र व्यवसायी मिलेर बनाए भत्किएका सडक 

गाउँपालिका र व्यवसायी मिलेर बनाए भत्किएका सडक 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ट्याक्टर व्यवसायीसँगको सहकार्यमा सडक मर्मत सम्भारको काम सुरु गरेको छ । 

वर्षाका कारण सडकमा बनेको खाल्डाखुल्डीमा रोडा (गिटी) भरेर सडक सुरु गराउनका गाउँपालिका र ट्याक्टर व्यवसायीबीचमा सहकार्य गरिएको हो । 

सडकका अधिकांश खण्डमा खाल्डाखुल्डी बनेपछि सवारी साधन आवत–जावतमा समस्या भइरहेको अवस्थामा बिहिबारदेखि रोडा ओसार्ने र सडकको खाल्डाखुल्डीमा हालेर मर्मत सम्भारको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 

दशैं र तिहार नजिकिदै गरेको अवस्थामा गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा गाउँपालिकाभित्रका मुख्य–मुख्य सडक मर्मतको काम सुरु गरिएको हो । 

गाउँपालिकाभित्रका प्रमुख सडकका रुपमा रहेको रमाईलो–छितापोखरी, टुवा खोला–तावा खोला, याम्खा–खानीडाँडा र रेग्मीटार–पञ्चमी सडकका खाल्डाखुल्डीमा रोडा भर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

गाउँपालिकाको आग्रहमा गाउँपालिकाभित्रका २१ जना ट्याक्टर व्यवसायी वर्षाका कारण सडकमा बनेको खाल्डाखुल्डीमा रोडा भर्न र मर्मतसम्भारका लागि निःशुल्क ट्याक्टर उपलव्ध गराउन तयार भएका छन् । 

मंगलबार गाउँपालिकाको कार्यालयमा बसेको बैठकले सडक मर्मत सम्भारका लागि खाल्डाखुल्डीमा भर्ने रोडा ओसार्न ट्याक्टर व्यवसायीले तीन÷तीन दिन ट्याक्टर उपलव्ध गराउने निर्णय भएको थियो । 

सडक मर्मत सम्भारकाक्रममा रोडा ओसार्नका लागि हरेक ट्याक्टर व्यवसायीले एक/एक वटा ट्याक्टर तीन दिनसम्म निःशुल्क उपलव्ध गराउने सहमति भएको छ । सडकको खाल्डोमा थुपारिएको रोडालाई जेसिभी लगाएर सम्याउने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए ।