close

नक्सा पास नै नगरी अर्कैको जग्गामा सरकारी भवन निर्माण !

नक्सा पास नै नगरी अर्कैको जग्गामा सरकारी भवन निर्माण !

Trulli
ADVERTISEMENT

दैलख– स्थानीय सरकारले नियम मिचेर कसरी काम गर्छन भन्ने केही गतिला उदाहरण खोज्न दैलेखको नारायण नगरपालिका पुगे हुन्छ । 

नारायण नगरपालिकाले स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि हतारहतारमा जग्गा पास विनै ठेक्का प्रकृया अघि मात्र बढाएन, नक्सा पास नै नगरी भवनको पहिलो तला ढलान पनि गरिसकेको छ । 

स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि नारायण नगरपालिका –६ विजौरामा स्वास्थ्य सेवा केन्द्रको नाममा जग्गा पास नै नगरी ठेकेदारमार्फत पहिलो तला ढलान गरिसकेका छन् । 

कानुनको अधिनमा रहेर ठेक्का प्रकृया हुनुपर्नेमा स्वास्थ्य चौकीको नाममा जग्गा नआउँदै हतारहतारमा निर्माण भएपछि नगर प्रमुखदेखि कर्मचारीसम्मको कार्यशैलीमा प्रश्न उठेको स्थानीयवासी बताउँछन् । 

नगरले बनाएको सो भवनको जग्गा स्थानीय तुलसा थापाको नाममा छ । उनले कृषि विकास बैंकमा सो जग्गा धरौटी राखेर ५ लाख रुपैँया ऋण समेत लिएको बताएकी छन् । 

सो रकम मध्ये ३ लाख १० हजार रुपैँया बैंकमा बुझाएकी छिन् भने अव १ लाख ९० हजार रुपैँया बैंकलाई बुझाएपछि मात्र उनको हातमा जग्गाको लालपुर्जा पर्नेछ । तर नगरले भने बैंक धितोमा रहेको जग्गामा नक्सापास नै नगरी भवन निर्माण गरेको छ । 

तुलसाको नाममा उक्त जग्गा आएपछि स्वास्थ्य सेवा केन्द्रको नाममा दान हुनेछ । तर, हतारमा सवै प्रकृया मिचेर टेण्डर मार्फत भवन निर्माण थालिएको हो । पुस मसान्तमा भवन निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता छ । 

‘जग्गा कृषि विकास बैंकमा राखेको छु । अझ तिर्न बाँकी रहेकाले आफ्नो नाममा जग्गा आएपछि स्वास्थ्य चौकीको नाममा दान दिन्छु,’ तुलसा भन्छिन् ।

 ३७ लाखको स्टिमेट भएपनि ठेक्का मार्फत भ्याटसहित २९ लाखमा सम्झौता भएर भवन निर्माण कार्य भएको हो ।  नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले जग्गा पास नहुँदै जवरजस्ती ठेक्का प्रकृयामा लग्न दवाव दिएको स्थानीयको दावी छ । 

के भन्छ नगरपालिका ?

नारायण नगरपालिका दैलेखले भने प्रकृया मिचेर काम नगरेको भन्दै आफ्नो बचाउ गरेको छ । 

नगरपालिकाका अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गत शर्सत अनुदानमा ४ वटा आधारभूत स्वास्थ्य चौकी निर्माणका लागि बजेट आएको थियो । ३ वटाको जग्गा पास नै गरेर काम सुरु गरिएको छ ।

नारायण नगरपालिका ६ बिजौरावासीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै भवन निर्माण थालिएको नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले बताए । 

‘सर्सत अनुदानमा भवन निर्माण गर्नुपर्ने थियो गत वर्ष नसके बजेट फ्रिज हुने भएकोले हतारमा काम गर्नुपरेको हो,’ प्रमुख खड्काले भने । लकडाउनका कारण जग्गा पास हुन नसेकको नारायण नरपालिकाका नगर प्रमुख खड्काको दावी छ । 

नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशम बुढा भने जग्गा स्वास्थ्य चौकीको नाममा नआई ठेक्का प्रकृया नै हुन नसक्ने बताउँछन् । 

‘कसरी ठेक्का भो मलाई थाहा भएन,’ प्रमुख प्रशासकिय अधिकृत बुढाले भने, ‘दान दिएको जग्गा भन्ने सुनेको हुँ अघिल्लो बर्ष यो कार्य भएको हो । क–कसको मिलोमत्तो भयो मलाई थाहा छैन ।’