close

गाउँपालिका केन्द्र नै सञ्चारविहीन 

गाउँपालिका केन्द्र नै सञ्चारविहीन 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– जिल्लाको चिशंखुगढी गाउँपालिका केन्द्र सञ्चारविहीन भएको छ । गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा सेवाग्राहीका दैनिक काम गर्न कठिनाइ भएको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए । उनले भने, ‘कार्यालयमा टेलिफोनले कामै गर्दैन । कुरा गर्न माथि डाँडातिर धाउनुपर्छ ।’ 

जनताका गुनासा र समस्या धेरैजसो फोनमै समाधान हुने भए पनि गाउँपालिका धाउनुपर्छ । ‘सूचनाको माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भए÷नभएको अनुमानकै भरमा गाउँपालिका पुग्नुपर्छ’, स्थानीय भन्छन् । 

गाउँपालिकाले निजी कम्पनीको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी छैन । इन्टरनेट नभएकै कारण लामो समसयसम्म गाउँपालिका केन्द्रमा बैंकको शाखासमेत खुल्न सकेको छैन ।

अहिले जडान गरेको इन्टरनेट भरलाग्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । 

‘फोनकै कारण गाउँपालिकामा काम गर्दा परिवारका सदस्यसँग सम्पर्कसमेत हुँदैन,’ उनले भने । 

गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुने गरी नेपाल टेलिकमले टावर निर्माण प्रक्रिया अघि बढाए पनि अहिलेसम्म काम सुरु नभएको गाउँपालिका अध्यक्ष शर्मा बताउँछन् ।

‘टेलिकमले विभिन्न बहानामा कहिले प्राविधिक, कहिले ठेकेदारका समस्या देखाएर झुलाउँदा गाउँपालिकाबासी सञ्चार सुविधाबाट वञ्चित छन् । केन्द्र मात्रै होइन, चिशंखुगढीका अधिकांश गाउँमा टेलिफोन नटिप्ने समस्या छ’, अध्यक्ष शर्माले भने ।