close

दशैंमा आफन्त आएनन्, बरु उज्यालो आयो

दशैंमा आफन्त आएनन्, बरु उज्यालो आयो

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको भाटबेँसी र मंसिरेमा विद्युत विस्तार गरिएको छ । यसअघि नै केन्द्रीय प्रशारण लाईनले छोएको राजापानीमा हालसम्म विद्युत पुग्न बाँकी टोलमा विद्यूत विस्तार गरिएको हो । 

 

नगरपालिकाको बजेट र नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा भाटबेँसी र मंसिरेका ६० घरमा विद्युत विस्तार गरिएको हो । दशैंको अवशरमा हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले भाटबेँसी र मंसिरेमा विद्युत उद्घाटन गरेका छन् । 

 

नगरपालिकाको ‘उज्यालो नगरपालिका अभियान’ अन्तरगत राजापानीका विद्युत पुग्न बाँकी टोलमा विद्युत विस्तार गरिएको मेयर राईले बताए । ‘पुरानो काठका पोल हटाएर फलामका पोल राखियो, कम क्षमताको ट्रान्सफर्मर भएको ठाउँमा ठूलो क्षमताको ट्रान्सफर्मर राखियो,’ मेयर राईले भने, ‘भाटबेँसीका ३१ घर र मंसिरेका २९ घरमा विजुली बलेको छ । 

 

मिटरबक्स अभावमा अझै १५/२० घरमा वत्ती बल्न बाँकी छ ।’ अव राजापानीकै सुनकोसी किनारमा माझी समुदायको बस्ती रहेको गोडुलीघाटमा विद्युत विस्तार गर्न बाँकी छ । 

 

हलेसी तुवाचुङ नगरपालिकाले विद्युत विस्तार गर्न बाँकी वडामा विद्युतीकरणको कामलाई तिब्रता दिएको छ । ‘उज्यालो वडा’ घोषणा अभियान चलाइएको नगरपालिकाका बाँकी वडा र टोलमा विद्युत बिस्तारका लागि हाल पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर राख्ने लगायतका कामले तिब्रता पाएको छ । 

 

हालसम्म केन्द्रीय प्रशारणलाईन अन्तरगतको विद्युतले नछोएको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा पोल गाड्ने, तार टाँग्ने र ट्रान्सफर्मर राख्ने काम भइरहेको छ । यस्तै, केही समयअघि मात्र विद्युतले छाएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विभिन्न टोलमा पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर राख्ने लगायतका काम भइरहेको नगरपालिकाका मेयर इवन राईले बताए । 

 

यस्तै, विद्युत पुग्न बाँकी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदे, काचुपात्ला, पाइङ्मा, छोकमाला, गणेशटार, चुमाखु, रातमाटेमा विद्युतीकरणको कामले तिब्रता पाएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका साविकका ९ वटै वडामा विद्युतीकरणको ९० प्रतिशत काम भइसकेको छ । धितुङमा ट्रान्सफर्मर राख्न मात्र बाँकी छ । 

 

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको पामे, नवलपुर र शिखरकटेरीमा विद्युतीकरणको काम भइरहेको मेयर राईले बताए । बाहुनीडाँडा र डिकुवामा भने नेपाल विद्युत प्राधिकरणको बजेटले ठेक्कामा विद्युतीकरणको काम सुरु गरिएको हो । अन्य वडामा भने उपभोक्ताबाट श्रमदान जुटाइएको छ । 

 

मेनलाईनको पोल गाड्ने, तार टाँग्ने र ट्रान्सफर्मर राख्ने काम नगरपालिकाकोतर्फबाट भए पनि शाखालाईनको काममा श्रमदान जुटाइएको मेयर राईले बताए । हाल गाउँमा विद्युत बिस्तारका लागि उपभोक्ताले पोल गाड्ने, तार टाँग्ने र ट्रान्सफर्मर राख्ने काममा उत्साहकासाथ श्रमदान गरिरहेका छन् । श्रमदानका लागि टोल–टोलमा समुह बनाइएको छ । 

 

स्थानीय सरकार आउन अघि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा मध्यपहाडी लोकमार्ग आसपासका टोलमा मात्र विद्युत बिस्तार गरिएको थियो । 

 

स्थानीय सरकार कार्यान्वयनमा आएपछि नगरपालिकाले ‘उज्यालो वडा’ घोषणा अभियान चलाएर विद्युत बिस्तारको कामलाई तिब्रता दिएको हो । नगरपालिकाको आफ्नै बजेट, संघीय सरकार र नगरपालिकाको म्याचिङ फण्ड तथा नेपाल विद्युत प्राधिकरणको बजेटमा विद्युत बिस्तारलाई तिब्रता दिइएको हो ।