close

उदाहरणीय नमुना वस्ती बन्दै छिपखोला 

उदाहरणीय नमुना वस्ती बन्दै छिपखोला 

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व) – प्रख्यात सिस्ने हिमाल, कमल दह, रमणीय उच्च स्थानमा रहेको गुप्ता दह, छिप्री दह, तातोपानी, रुकुमकोट सुन्दर ब्याली, सानीभेरी नदीको पर्यटकीय सुन्दरतासँगै सिस्नेले जोकोहीको मन लोभ्याउँछ । 

 

आत्मीयता र हार्दिकता बोकेका फरासिला स्थानीयहरूको सदुभाव र प्रेम अनौठो छ । नेपालका जति जातजाति छन्, अधिकांश जातजातिको बसोवास यस गाउँपालिकामा रहेको छ । 

 

माओवादी जनयुद्धको उर्वर भूमिसमेत भएकाले यहाँ जनयुद्धसँग जोडिएका थ्रुप्रै ऐतिहासिक सम्पदा छन् । जनयुद्धको अध्ययन गर्ने र प्राकृतिक सम्पदाको अनुसन्धान गर्ने जोकोहीले यहाँबाट लाभ लिन सक्छ । यही गाउँपालिकाको एउटा ऐतिहासिक तथा पर्यटकीय गन्तव्य हो, सिस्ने– २ को छिपखोला वस्ती ।

 

सिस्ने– २ छिपखोला गाउँ एउटा पृथक् ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो । ४० घरधुरी मात्र रहेको यस गाउँमा पुन मगरको मात्र बसोवास रहेको छ । कृषिका लागि उर्वर भूमि, उपयुक्त हावापानी यस ठाउँको विशेषता हो । जनयुद्धको क्रममा २०६० देखि २०६८ को आसपाससम्म यहाँ १० घरपरिवारको कम्युन सञ्चालन भएको थियो ।

 

२०६१ सालमा तत्कालीन जनसकारले ३ किलोवाट क्षमताको छिपखोलामा विद्युत् उत्पादन गरेकाले हालसम्म उक्त विद्युत्बाट छिपखोला वस्ती उज्यालो बनिरहेको छ । जनयुद्धको क्रममा छिपखोलाबाट छ जना शहीद भएका छन् । 

 

यहाँको समुदाय उदारवादी स्वभावको छ । हरेक कुरामा एक मत हुने विशेषता छ यहाँका स्थानीयको । उत्पादनमा पनि खेतीयोग्य जग्गा जमिन, खाद्यान्न, तरकारी, फलफूल, वन, जंगल पर्याप्त रहेकाले भेडा, बाख्रा, भैँसी फार्म खोलेर पशुपान गर्न पनि उपयुक्त रहेको वडा अध्यक्ष जीवन केसीले जानकारी दिए । यी कारणले ‘नमुना वस्ती छिपखोला’ को रूपमा विकास भइरहेको उनको भनाइ छ ।  

 

गणेशमान पुन सांसद् रहेको समयमा २०७३ सालमा संसद् कोषबाट ४० लाख रुपैयाँबाट नमुना बस्ती छिपखोलाको अवधारणा ल्याइएकाले प्रत्येक वर्ष गाउँपालिकाबाट विशेष बजेटको व्यवस्था गरी नमुना वस्ती निर्माणमा लागिएको वडा अध्यक्ष केसीले बताए । नमुना वस्ती निर्माणलाई पूर्णता दिन र ऐतिहासिक स्थलको संरक्षण र प्रवर्द्धन गर्नमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार विकास गर्ने बताइएको छ । 

 

विद्युत्

 

तत्कालीन जनसरकारले उत्पादन गरेको ३ किलोवाट जलविद्युत् अहिले छिपखोलाका ३०–४० घरधुरीले उपभोग गरिरहेका छन् । जनसरकारले उत्पादन गरेको विद्युत्लाई संरक्षण र उपभोग गरिराख्ने बताइएको छ । 

 

४० किलोवाटको लघु जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हाल सबै काम सम्पन्न भएकामा केही ससयपछि ४० किलोवाट क्षमता सञ्चालनमा ल्याई छिमेकी गाउँलाई पनि दिन सकिने जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लगानीमा उक्त आयोजना निर्माण गरिएको हो । 

 

आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको एक करोड १४ लाख, गाउँपालिकाबाट २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको २० लाख, स्थानीयको सामाजिक कोषबाट सात लाख, स्थानीय ४० घरधुरीबाट प्रतिघर १० हजार रुपैयाँका दरले चार लाख रुपैयाँ गरी एक करोड ६६ लाख रुपैयाँ लगानी भएको छ । केही सामग्री जडान गरेर विद्युत् बाल्न मात्र बाँकी रहेको बताइएको छ ।

 

सिँचाइ

 

आर्थिक वर्ष २०७५/०७६ को पाँच लाख र २०७६०/७७ मा ७३ लाख गरी दुई आर्थिक वर्षमा ७८ लाख रुपैयाँ प्रदेशको बजेटले सिँचाइ पनि पुर्‍याइएको छ । छिपखोलाबाट विद्युत् र सिँचाइको नहर एउटै रहेकामा सिँचाइ र विद्युतका लागि छुट्याइएको ठाउँसम्म एक हजार ५०० मिटरको नहर रहेको छ । 

 

उक्त सिँचाइ आयोजनाबाट ३२ घरधुरी लाभान्वित रहेका छन् भने बाँकी पानी सिँचाइ पुर्‍याउन नसकिएका आठ घरधुरीलाई प्लास्टिक पोखरी निर्माणमा गत वर्ष र चालू वर्षको गरी २० लाख रुपैयाँ बजेटले कृत्रिम प्लास्टिक पोखरीबाट सिँचाइको व्यवस्था मिलाइएको छ । 

 

पानी नहरदेखि वितरण ट्याङ्कीसम्म पुर्‍याइएकामा अब भने कृषकको बारीबारीमा वितरण गर्न मात्र बाँकी रहेको छ, जसले गर्दा हिउँदे बालीनालीका लागि सिँचाइको व्यवस्थापन भइसकेको छ

 

स्वास्थ्य/सञ्चार

 

यस गाउँका स्थानीयले अहिले आधारभूत स्वास्थ्य सेवा छिपखोला गाउँबाटै पाइरहेका छन् । २०७५ सालमा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी अहेव र अनमीबाट आधारभूत स्वास्थ्य उपचार गराइरहेको थियो ।

 

विगतको जस्तो तीन–चार घण्टा लगाएर स्वास्थ्य चौकी नायगाडमा जानुपर्ने बाध्यता अब टरेको छ । हाल सञ्चारको सुविधाको पहुँचमा नभएकाले सिस्ने– ४ दाडिङमा नेपाल टेलिकमको टावर निर्माणको काम भइरहेकाले उक्त टावर निर्माण हुनासाथ सञ्चारको पनि राम्रो पहुँच हुनेछ । 

 

शिक्षा

 

तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति सम्झौता भइपछि जनवादी विद्यालय स्थापना भएको ठाउँमै विद्यालय खोली ४० घरधुरी रहेको छिपखोलाका लागि अहिले बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन सञ्चालन गरिएको छ ।

 

कक्षा ५ उत्तीर्ण भइसकेपछि सोही वडामा रहेको मावि नायगाडमा पढ्न जाने गरेका छन् । 

 

कृषि

 

यहाँ मकै, गहुँ, जौलगायत धानसमेत खाद्यान्न बाली उत्पादन हुने गरेको छ । धानबाहेक अन्य अन्नबाली छिपखोलाको सबै क्षेत्रमा राम्रो उत्पादन हुन्छ भने छिपतारामा धान र तरकारी राम्रो उत्पादन हुने गरेको छ । 

 

फलफूल उत्पादनका लागि पनि उपयुक्त ठाउँ रहेकाले गाउँपालिकाले चालू वर्षमा पाँच लाख रुपैयाँ बजेटले सुन्तला, दाँते ओखर, अनार, टिम्मुर, ड्रागन फ्रुटसमेतका फलफूलका एक हजार दुई हाराहारीमा बिरुवा वितरण गरिएको छ । 

 

आगामी वर्षहरूमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारी उक्त डीपीआरबमोजिम नमुना वस्ती बनाउने वडा अध्यक्ष केसीको भनाइ छ । 

 

यहाँ खानेपानी टोलटोलमा पुगेको छ । खोलामा झोलुङ्गे पुल बन्दै छन् भने सडक ४ नम्बर दादिङबाट ल्याइँदै छ । सडक गाउँसम्म पुग्न ३०० मिटर मात्र बाँकी रहेको केसीले जानकारी दिए । यहाँ हालै एउटा मिनी शहीद पार्क पनि बनाइएको छ । 

 

ऐतिहासिक कम्युन सात–आठ वर्षसम्म सञ्चालन भएको ठाउँको अवशेषलाई संरक्षण गर्न, जनवादी विद्यालयमा पार्टीको पाठ्यक्रमलाई जोगाइराख्न संग्रहालय, जनसरकारले विद्युत् उत्पादन गरेको बेलाको सामग्री संरक्षण र आम विकास निर्माण, पेसा व्यवसायका लागि आत्मनिर्भर हुनका लागि डीपीआर भइसकेपछि अन्य योजनालाई पूर्णता दिइने गाउँपालिकाले जनाएको छ ।