close

उपचार नपाएर महानगरवासी त्रस्त, मेयर भने सधै शिलान्यासमै व्यस्त

उपचार नपाएर महानगरवासी त्रस्त, मेयर भने सधै शिलान्यासमै व्यस्त

Trulli
ADVERTISEMENT

काठमाडौं - कोरोना संक्रमणले समुदायलाई नै आक्रान्त बनाउन लागिसकेको अवस्था छ । अझ केन्द्रीय राजधानी काठमाडौंमा दैनिक हजारभन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन् । तर, काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य भने वडा कार्यालयका भवन शिलान्यासमा व्यस्त छन् । 

 

दैनिक हजारको संख्यामा बढिरहेका संक्रमितको उपचारको व्यवस्था, आइसोलेसन, क्वारेन्टाइनको प्रबन्धतिर ध्यान जानुपर्ने बेला महानगर प्रमुख भने वडा कार्यालय शिलान्यासमा रमाइरहेका हुन् ।

 

काठमाडौं महानगरपालिकाका सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने योजना अगाडि बढाइएको थियो । सोहीअनुरूप नयाँ वडा भवन बनाउने कार्यक्रमअन्तर्गत वडा ९ र २६ का नयाँ भवन सञ्चालनमा आइसकेका छन् । वडा ३, ४ र १४ को भवन निर्माण सम्पन्नको चरणमा छन् । 

 

वडा ६ को भवन निर्माणका क्रममा डीपीसी चरणमा पुगेको छ । भवन निर्माणकर्ता छनोटका लागि वडा २, १२, २१, २९ र ३२ प्रक्रियामा छन् भने वडा २० र १६ को डिजाइन सकिएर खरिद प्रक्रियामा जाने चरणमा पुगेको छ । वडा २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

 

वडा कार्यालय शिलान्यास गरेलगत्तै महानगरका प्रमुख शाक्यले आजै संकटा परिसरमा रहेको ‘क्वाःपा द्यो छेँ’ को शिलान्यास गरे । यसको पुननिर्माण ‘संकटा संरक्षण समिति’ ले ९९ लाख ३८ हजार ६ सय २२ रुपैयाँ लागतमा गर्नेछ ।

 

यता, कामपाको भने आफ्नै कार्यालय नौ ठाउँमा छरिएर रहेको अवस्था छ । कामपाको भवन यत्रतत्र छरिएर रहँदा आन्तरिक रूपमा नै समस्या भएको कामपाले जनाएको छ । सेवाग्राही मात्र नभई कर्मचारीलाई समेत कठिन परेको कामपाका एक कर्मचारीले बताएका छन् । ती कर्मचारीका अनुसार एउटा विभागले गरेको काम अर्काे विभागलाई जानकारी लिनै मुस्किल छ ।

 

कामपाको हालसम्म आफ्नो भवन निर्माण हुन सकेको छैन । कामपाको कार्यालय रहेको भवनमा भूकम्पले क्षति पु¥याएको भन्दै सो भवन भत्काई सोही स्थानमा निर्माण गर्ने तयारी थालेको थियो । सर्वाेच्च अदालतले कामपाको कार्यालय रहेको भवन अर्थात् ऐतिहासिक बागदवार नभत्काउन आदेश दियो । बागदरबार नभत्काउन परेको रिटको सुनुवाइ गर्दै अदालतले राणकालीन दरबार नभत्काउन निर्देशन दिएको थियो ।

 

त्यसपछि महानगरले आफ्नो भवन निर्माणका लागि कुनै कसरत गरेको छैन । काठमाडौं महानगरपालिकाको भाडामा रहेका कार्यालय नौभन्दा बढी स्थानमा रहेका छन् । भूकम्पअघि बागदरबारबाट आफ्नो सबै सेवा प्रदान गर्दै आएको कामपाले भूकम्पपछि विभिन्न स्थानमा छरेको छ । 

 

कामपाको कार्यालय विभिन्न स्थानमा छरिएर रहँदा सेवाग्राहीलाई सास्ती भएको छ । भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएका कामपाका केही विभाग सुन्धारामा नै रहेको जेडीए कम्प्लेक्समा छन् । त्यस्तै, वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सरेका छन् ।

 

नक्सा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन् भने महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडीए कम्प्लेक्समा रहेका छन् ।

 

टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आएको भए पनि अन्य विभाग भने भूकम्पपछि र केही त एक महिनाअघि मात्र सुन्धाराबाट अन्यत्र सरेका हुन् ।

 

वडा २२ को भवन शिल्यान्यास

 

वडा २२ को कार्यालय भवनको शिलान्यास भएको छ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, वडा अध्यक्ष चिनीकाजी महर्जनले संयुक्त रूपमा भवनको शिलान्यास गरेका थिए । 

 

भवन निर्माणको लागत इस्टिमेट चार करोड १९ लाख ७३ हजार २३३ रुपैयाँ १८ पैसा थियो । खरिद प्रक्रियामा आएका प्रतिस्पर्धीमध्ये के. एण्ड के.जी. रमिता कन्स्ट्रक्सन प्रा. लि.ले तीन करोड २० लाख १४ हजार २१४ रुपैयाँ ८७ पैसामा निर्माण कबोल गरेपछि भवन निर्माणको जिम्मा उसैलाई दिइएको छ । भवन २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । 

 

शिलान्यासपछि प्रमुख शाक्यले आफ्नै कार्यालय भवनबाट सेवा दिने महानगरको नीति कार्यान्वयन भइरहेको बताए । वडा २२ को भवन ६ जना व्यक्ति अट्ने लिफ्टसहितको ६ तल्लाको हुनेछ ।

 

इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार तीन आना जग्गामा निर्माण हुने भवन छ हजार ३१६ वर्ग फिट क्षेत्रफलको हुनेछ । पाँचौँ तल्लासम्म भवनका हरेक तल्लामा चारवटा कोठा हुनेछन् भने माथिल्लो तल्लामा बैठक कक्ष हुनेछ ।