close

सिस्ने गाउँपालिकाले निर्माण गर्‍यो बस पार्क

सिस्ने गाउँपालिकाले निर्माण गर्‍यो बस पार्क

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व) - सिस्ने गाउँपालिकाले निर्माण गरेको रुकुमकोट बस पार्क बिहीबार (आज) प्रतिनिधिसभा सदस्य कमला रोका मगरले उद्घाटन गरेकी छन् ।

 

अस्थायी जिल्ला सदरमुकाम रुकुमकोटमा कुनै पनि बस पार्क नभएपछि सिस्ने गाउँपालिकाले दुई आर्थिक वर्षको बजेटले रुकुमकोट बस पार्क निर्माण गरेको हो ।


बस पार्क उद्घाटनको क्रममा सांसद रोकाले हाल रुकुमपूर्वको मुख्य बजार रुकुमकोटमा बस पार्क नरहेको अवस्थामा अस्तव्यस्त रूपमा गाडी पार्किङ भइरहेको समस्यालाई मध्यनजर गरेर सिस्ने गाउँपालिकाले बस पार्क निर्माण गरेकामा बधाई दिइन् । बस पार्क निर्माणका लागि जग्गा दान गर्ने स्थानीयलाई धन्यवाद पनि दिइन् । 

 

जिल्लावासीका समस्यालाई निकास दिन तीन तहका सरकारले हातेमालो गरी काम भइरहेको उनले बताइन् । लुम्बिनी प्रदेशको एक मात्र हिमाली एवं नयाँ जिल्ला भएकाले यस जिल्लाको विकास निर्माणका साथै व्यवस्थित शहर विकासका काम पनि सुरुवाती चरणमा अघि बढिरहेको उल्लेख गर्दै भनिन्, ‘रुकुमकोट बजारलाई संघीय सरकारकै अवधारणाअनुसार स्मार्ट शहरको रूपमा विकास गरिन लागिएको छ ।’

 

रुकुमपूर्वमै पहिलो पटक सिस्ने गाउँपालिकाले बस पार्क निर्माण गरेको हो । जथाभावी गाडी पार्किङ हुँदा दुर्घटना हुन सक्ने र बस पार्क नहुँदा यात्रु तथा सवारी चालकहरूले सास्ती पाएपछि गाउँपालिकाले बस पार्क निर्माण गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । रुकुमकोट बस पार्क सिस्ने– ५ काजिन्दा भन्ने स्थानमा निर्माण गरिएको छ । 

 

स्थानीय इन्द्रबहादुर सुनार, रामेश्वर सुनार र चित्रबहादुर सुनारले बस पार्क निर्माणका लागि आवश्यक पर्ने ५१ वर्ग मिटर क्षेत्रफलको जग्गा दान गरेका छन् । बस पार्कका लागि उनीहरूले उपलब्ध गराएको जग्गामा सिस्ने गाउँपालिकाले गत र चालू आर्थिक वर्षको गरी ४० लाख रुपैयाँ बजेटले बस पार्कसहित शौचालय, टिकट काउन्टर घर निर्माण गरेको हो ।