close

जस्तापाताले टल्किँदै छन् रुकुमपूर्वका ६ सय ६९ घर

जस्तापाताले टल्किँदै छन् रुकुमपूर्वका ६ सय ६९ घर

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व)– चालू आर्थिक वर्षमा रुकुमपूर्वमा सुरक्षित नागरिक आवास कार्यक्रमबाट ६६९ खरका घरमा जस्तापाता लगाइने भएको छ । खरको छाना भएका घरमा बसोवास गर्दै आएका विपन्न परिवारका घरका छाना फेरिने भएको हो ।

सघन शहरी तथा भवन निर्माण योजनाअन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रममार्फत पुथाउत्तरगंगा गाउँपालिकाका १८७, भूमे गाउँपालिकाका २२३ र सिस्ने गाउँपालिकाका २५९ गरी चालू आर्थिक वर्षमा जिल्लामा विपन्न परिवारका ६६९ वटा खरका छाना भएका घरका छानामा जस्तापाता लगाइनेछ ।  

संघीय सरकारको कार्यक्रम रहेकाले रुकुमपूर्वमा मात्र नभई निकट भविष्यमा देशैभर खरका छाना भएका घर जस्तापाताले फेरिने सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन समिति रुकुमपूर्वका संयोजक एवं प्रतिनिधिसभाका सदस्य कमला रोका मगरले बताइन् । कार्यक्रम गत वर्षदेखि सुरु भएकामा गत वर्ष पुथामा ३४, भूमे र सिस्ने गाउँपालिकामा ५०÷५० खरका घर गरी १३४ विपन्न परिवारका खरका घरमा जस्तापाता लगाइएको प्रतिनिधिसभाका सदस्य रोकाले जानकारी दिइन् ।

असहाय, गरिब परिवारले सुख, शान्तिपूर्ण तथा सहज रूपमा जीवनयापन गर्न सकून् र असहायले पनि व्यवस्थित र सुरक्षित घर पाऊन् भन्ने उद्देश्य सरकारको रहेको र सोहीअनुसार विपन्न परिवारलाई छनोट गरेर खरका छाना फेरिँदै गरेको रोकाको भनाइ छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन समिति रुकुमपूर्वको बैठकले चालू आर्थिक वर्षमा खरका घर भएका विपन्न घरपरिवारको निवेदन संकलनका लागि स्थानीय तहले १० दिन समयको सूचना प्रकाशन गर्ने र सर्वेक्षण गरी गरिबीको रेखामुनि परेका आधारमा अंक प्रदान गरी सघन शहरी तथा भवन निर्माण आयोजना दाङमा पठाउने निर्णय भएको सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए ।  


विपन्न र गरिबीको रेखामुनि रहेको लक्षित वर्गमा छनोट भएका विपन्न परिवारलाई जस्तापाताको छाना बनाउन ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । यस वर्ष छुटेका विपन्न घर परिवारलाई अर्काे वर्षमा समेटिने बताइएको छ ।