close

८४ काेठाकाे गाउँपालिका भवन, छतमै बस्छ हेलिकोप्टर

८४ काेठाकाे गाउँपालिका भवन, छतमै बस्छ हेलिकोप्टर

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको सीमावर्ती गाउँपालिका पाल्हीनन्दनले हेलिप्याडसहितको सुविधासम्पन्न ८४ कोठे भवन निर्माण गरेको छ ।

 

एक बिघा क्षेत्रफलमा फैलिएको सो प्रशासनिक भवन देशैभरका पालिका कार्यालयभन्दा सबैभन्दा ठूलो रहेको नगरपालिकाको दाबी छ ।

 

आठ करोड ४७ लाख रुपैयाँ लागतको भवन पाँच तल्ले छ । भैरहवाको प्राकृतिक निर्माण सेवाले ठेक्का लिएको भवन निर्माण अन्तिम चरणमा छ । ‘तीन तल्लासम्म फिनिसिङ भइसकेको छ भने केही दिनमा दुई तल्लाको काम सकिन्छ’, पालिका अध्यक्ष बैजुप्रसाद गुप्ता भन्छन्, ‘रङरोगन सकिनेबित्तिकै नयाँ भवनबाट कार्यालयको काम सुरु गर्छौं ।’

 

दशैँ-तिहारकै समय नयाँ भवनमा सर्न आवश्यक काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश कोहारले बताए । भवनमा कार्यक्रम हलदेखि बैठक कक्ष, पदाधिकारीका कार्यकक्ष र लिफ्ट पनि जडान भएको छ ।

 

भवनमा एकातिर हेलिप्याड छ भने अर्काेतर्फ दृश्यावलोकनका लागि भ्यु टावर निर्माण भइरहेको अध्यक्ष गुप्ताले जानकारी दिए । भ्यु टावरले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उनको आशा छ ।

 

गेटबाट भित्र पानीको फोहोरासहितको वाटर फाउन्टेन र पार्किङ स्थलको व्यवस्था छ । चारैतर्फ कम्पाउडसहितको भवनमा विभिन्न प्रजातिका फूल रोप्ने योजना रहेको ओभरसियर बेचन प्रजापतिले जानकारी दिए ।

 

प्रशासनिक भवन पालिकाको गौरवको योजना हो । पाल्हीनन्दन गाउँपालिकाको केन्द्र बेलासपुर हो, जुन सदरमुकाम परासीभन्दा दक्षिण पर्छ । पाल्ही भगवती मन्दिर र नन्दन ताललाई जोडेर पाल्हीनन्दन नगरपालिका नामकरण गरिएको हो ।