close

प्रशासकीय भवन निर्माण गर्दै क्व्होलासोंथर

प्रशासकीय भवन निर्माण गर्दै क्व्होलासोंथर

Trulli
ADVERTISEMENT

लमजुङ - लमजुङको क्व्होलासोंथर गाउँपालिकाले प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सहयोगमा गाउँपालिकाको वडा- २ मालिङमा प्रशासकीय भवन निर्माण सुरु भएको हो ।

 

भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका हुन्। मुख्यमन्त्री गुरुङले गाउँपालिकाको सेवा प्रवाहलाई सहज बनाउन र नागरिकलाई सुशासनको प्रत्याभूत गराउन भवन निर्माणपछि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

‘गाउँपालिकाको आफ्नै भवन भए विकास निर्माणको काममा पनि अघि बढ्न सहज हुने हुँदा प्रदेशले पालिकासँग मिलेर साझेदारी अभियानमार्फत गाउँपालिकाको भवन निर्माण गर्न लागेको हो’, मुख्यमन्त्रीले भने । 

 

जग्गा व्यवस्थापन गाउँपालिकाले गर्ने र प्रदेशले भवनका लागि सहयोग गर्ने भनिए पनि जग्गा अभावका कारण भवन बन्न नसकेको गुरुङले बताए । प्रदेश र गाउँपालिकाको साझेदारी अभियानमार्फत गत वर्ष १६ गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको र यस वर्ष केही पालिकाको भवन बन्दै गरेको उनले जानकारी दिए ।


नेकपा गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायतले गाउँपालिकाको भवन बनेपछि नागरिकलाई सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरेका थिए ।


क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले गाउँपालिकाको प्रशासकीय भवन निर्माण समयअगावै सम्पन्न गरिने जानकारी दिए । ‘भवन निर्माणको अवधि दुई वर्षे भए पनि १५ महिनामै सकाउने तयारी साथ काम भइरहेको छ’, घलेले भने ।

 

तीन तले भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष १ करोड र यस वर्ष ५० लाख गरी १ करोड ५० लाख विनियोजन गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा ७५ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

भवन निर्माणका लागि रविना-अबिशा-बिकन जेभी निर्माण कम्पनीसँग ४ करोड १९ लाख ७४ हजार ८ सय ४४ रुपैयाँ ४९ पैसामा सम्झौता भएको छ ।


३० असोज ०७७ मा सम्झौता भएकामा ३० असोज ०७९ असोजमा सम्पन्न गरिसक्नुपर्नेछ । भवन निर्माण गर्न तीन आना जग्गा वडाध्यक्ष बुद्धिप्रसाद गुरुङले निःशुल्क दिएका हुन् ।