close

चिशंखुगढीमा जग्गा अभावले राेकियाे अस्पताल निर्माणकाे काम

चिशंखुगढीमा जग्गा अभावले राेकियाे अस्पताल निर्माणकाे काम

Trulli
ADVERTISEMENT

ओखलढुंगा- चिशंखुगढी गाउँपालिकालाई पालिकास्तरीय अस्पताल तथा खेल मैदान निर्माणका लागि जग्गा अभाव भएको छ । अस्पताल र खेल मैदानका लागि तोकिएको मापदण्डअनुसारको जग्गा उपलब्ध नहुँदा समस्या भएको हो ।

 

अस्पतालका लागि सडक आसपासमा पाँच रोपनी र खेल मैदानका लागि आठ रोपनी जग्गा आवश्यक छ । तर, गाउँपालिकाको स्वामित्वमा उपयुक्त जग्गा नहुँदा समस्या भएको गाउँपालिकाले जनाएको छ । 


गाउँपालिका केन्द्र नै अहिले कृषि सेवा केन्द्रको भवन तथा जग्गामा बसेको छ । गाउँपालिका केन्द्रमा प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त भए पनि अस्पताल तथा खेल मैदान निर्माणका लागि जग्गा अभाव भएकाले जग्गादाताहरूसँग सहयोगको अपिल गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए ।

 
गाउँपालिकाको खानीभञ्ज्याङस्थित स्वास्थ्य चौकी पोखरेलाई पालिकास्तरीय अस्पतालमा स्तर वृद्धि गर्ने योजना छ । त्यसका लागि पाँच रोपनी जग्गा आवश्यक भएकाले उक्त स्वास्थ्य चौकीबाट एक किलोमिटर क्षेत्रभित्र निःशुल्क प्राप्त हुने जग्गामा पूर्वाधार निर्माण हुने गरी मापदण्ड तोकिएको छ । 


त्यस्तै, पालिकास्तरीय खेल मैदान निर्माणका लागि पनि जग्गा खोजी गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिए । उनका अनुसार खेल मैदानका लागि आठ रोपनी जग्गा साविक पोखरे गाविसमा रहेको क्याप्टेन यज्ञबहादुर थापाको शालिकबाट एक किलोमिटरको वरिपरि रहने जग्गामा निर्माण गर्ने मापदण्ड बनाइएको छ । 


त्यस क्षेत्रमा गाउँपालिकाको स्वामित्वमा जग्गा नरहेकाले सूचना निकालेर जग्गा उपलब्ध गराउन पालिकाका समाजसेवीहरू तथा स्थानीयसँग आग्रह गरिएको दर्जीको भनाइ छ । जग्गा अभावमा गत वर्षदेखि नै योजना गरिएको खेलकुद मैदान निर्माणको काम सुरु हुन सकेको छैन ।