close

सानीभेरीमा १५ शय्याको अस्पताल बन्दै

सानीभेरीमा १५ शय्याको अस्पताल बन्दै

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १५ शय्याको गाउँपालिका अस्पताल निर्माण प्रक्रिया सुरु गरको छ । १५ शय्यासम्मको अस्पताल सञ्चालनको लक्ष्यसहित गत वर्षदेखि गाउँपालिकाको वडा- ७ छोटेबगरमा भवनलगायत आवश्यक संरचनासहितको अस्पताल निर्माण तयारी सुरु भएको हो । 

 

गाउँपालिका अहिले अस्पताल सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापनमा जुटेको छ । यसका लागि सातदिने सूचना जारी गर्दै भवन निर्माण गर्न आवश्यक जग्गा तोकी निःशुल्क उपलब्ध गराउन पालिकाबासीलाई आग्रह गरेको छ । 

 

गाउँपालिकाका दुई क्षेत्रलाई तोकेर पालिकाले जग्गा उपलब्ध गराउन भनेको छ । वडा- ३ को बेल्टापुदेखि पेदीबजारसम्म र वडा- ९ को पनेनचौरदेखि वडा-७ को फुक्रुज्युलासम्मको क्षेत्रभित्रको ठाउँ छनोट गरिएको छ ।


८० मिटर लम्बाइ र ३५ मिटर चौडाइको ९ रोपनी अर्थात् ४ हजार ६ सय वर्गमिटर जग्गा उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह विष्टले जानकारी दिए । 

 

अस्पतालका लागि यो वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड बजेट आएको उनले बताए । ‘यो बजेट भवन निर्माणमा खर्च हुनेछ’, उनले भने, ‘१५ शय्याको अस्पताल निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत १८ करोड बजेट आउने निश्चित भएको छ ।’ 

 

तोकिएको क्षेत्रभित्र आवश्यक जग्गा उपलब्ध भए त्यही ठाउँमा निर्माण हुने र उपलब्ध हुन नसके हाल अस्पताल रहेकै छोटेबगरमा निर्माण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले सुनाए । पालिकाबासीलाई स्वास्थ्य सेवा प्रवाह गर्ने गरी गत वर्षदेखि अस्पताल सञ्चालन भइरहेको छ । 


स्वास्थ्य सेवा थप प्रभावकारी र सुलभ बनाउने उद्देश्यले १५ शय्याको अस्पताल सञ्चालनको तयारी बजेटको समेत प्रबन्ध मिलाइसकिएको गाउँपालिकाले जनाएको छ ।