close

मोटरेबल पुलबाट जोडिँदै भीमाद र शुक्लागण्डकी 

मोटरेबल पुलबाट जोडिँदै भीमाद र शुक्लागण्डकी 

Trulli
ADVERTISEMENT

तनहुँ - ‘बर्षाका बेला केटाकेटी विद्यालय आउजाउ गर्दा ज्यानको बाजी थापेर खोला तर्नुपर्छ । हिउँदमा सुकेर खोला सानो भए पनि बर्खामा वारपार भएर बग्छ ।  पुल बनेपछि राहत मिल्ने भयो’, बरखोलामा मोटरेबल पुलको शिलान्यास कार्यक्रम चियाउन गएका जरेबरका बुजोसत्त महतले खुसी साटे ।


तनहुँको शुक्लागण्डकी नगरपालिका-११ र भीमाद नगरपालिका-९ को सीमा हुँदै बग्ने बरखोलाले बर्खामा गाउँलेलाई धरीधरी रुवाउँछ । वर्षौंदेखी यस्तै पीडा भोग्दै आएका दुई नगरपालिकाबासीको समस्या हटाउन चालू आर्थिक वर्षमा निर्माण सक्ने लक्ष्यका साथ बुधबार बरखोलामा मोटरेबल पुल शिलान्यास भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पुलको शिलान्यास गरेका हुन् ।


पुल निर्माण भएपछि तनहुँका दुई  स्थानीय तहलाई मात्रै नभएर दुई प्रदेशको निर्वाचन क्षेत्रलाई समेत जोड्नेछ । ‘विद्यालय, बजार, कार्यालय जान खोला तर्नुको विकल्प छैन । जोखिम मोलेरै भए पनि खोला तर्नुपर्ने समस्यामा पुस्तौदेखि गुज्रिएका छौं’, स्थानीय शिरबहादुर महतले भने, ‘पुलको शिलान्यासपछि खुसी छौं । तर, ढिलो नगरी छिट्टै निर्माण सकियोस् ।’ पुल निर्माण सम्पन्न भएपछि स्थानीय स्तरमा उत्पादित कृषि उपजले बजार पाउनेमा उनी विश्वस्त छन् । 


गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पुल बन्न लागेको हो । पुल निर्माणको लागत ३ करोड ९८ लाख ६३ हजार २ सय ७७ रुपैयाँ अनुमान गरिएको छ ।मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ३ करोड ३६ लाख ७५ हजार ६ सय ३६ रुपैयाँमा ठेक्का पाएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । 


उनका अनुसार पुल ३२.४ मिटर लामो हुनेछ ।  २२ असार ०७८ मा पुल निर्माण सक्ने सम्झौता भएको उनले बताए  । नदीले बर्खामा अधिक कटान गर्ने भएकाले त्यसलाई रोक्न १३ सय घनमिटर ग्याबिन भरिनेछ ।


कार्यक्रममा मन्त्री किरण गुरुङले आवश्यक स्थानमा प्रदेश सरकारले पुल निर्माण गर्दै जाने बताए । ‘सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षमा आवश्यक अन्य स्थानमा पनि पुल बन्नेछन् । सिँचाइका आयोजना, एक घर एक धारा खानेपानी कार्यक्रम र प्रदेशका सबै घरधुरीमा बिजुली बत्ती पुर्‍याउने कार्यक्रम प्राथमिकता साथ अगाडि बढाइएको छ’, उनले भने ।

 

प्रदेशसभा सदस्य आशा कोइरालाले पुलको काम समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिइन् । विकास निर्माणको काम समयमै सक्न उपभोक्ताले घच्घच्याउनुपर्ने उनको भनाइ छ । ‘कामको गुणस्तरबारे उपभोक्ताले चासो दिएर बेलाबखत अनुगमन गर्नुपर्छ । केही त्रुटि भेटिए सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराउन सक्नुहुन्छ’, उनले भनिन् । 


शुक्लागण्डकीका नगरप्रमुख किसान गुरुङले जनताका समस्या तीन तहका सरकार मिलेर समाधान गर्ने बताए । प्रदेश सरकारको बजेटमा बन्न लागेको पुलमा स्थानीय सरकारबाट आवश्यक सहयोग गर्न तत्पर रहेको उनको भनाइ छ ।


भीमादका नगरप्रमुख मेखबहादुर थापाले दुई स्थानीय तहलाई जोड्ने पुललाई मितेरी पुलको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।