close

सिद्धिचरणको पर्यटकीय गाउँमै छैन संचार सेवा

सिद्धिचरणको पर्यटकीय गाउँमै छैन संचार सेवा

Trulli
ADVERTISEMENT

ओखलढुंगा- सदरमुकाम ओखलढुंगाबाट सवारी साधनमा ३० मिनेटमै पुग्न सकिने ठाडे पर्यटन सम्भावना रहे पनि पूर्वाधारबाट भने पछि परेको छ । पुस, माघमा हिउँ खेल्न, जेठ, असारमा गर्मी छल्न मात्र होइन, स्थानीय परिकारको स्वाद आन्तरिक र बाह्य पर्यटक पुगिरहने गाउँ हो, ठाडे । यो गाउँ सिद्धिचरण नगरपालिका वडा- ६ मा पर्छ । 


विदेशीदेखि जिल्लाभित्र र बाहिरका पर्यटक कहिल्यै खाली नहुने यस्तो गाउँ पूर्वाधार विकासमा भने पछि परेको छ । वर्षौंको प्रयासपछि बिजुली त बलेको छ तर घुम्न पुगेका पर्यटकले आफन्तसँग कुराकानी गर्न पाउँदैनन् । त्यहाँ टेलिफोन टिप्दैन । 


सिद्धिचरण राजमार्गको ओखलढुंगा-सोलु खण्डको बीचमा पर्ने यो गाउँमा यातायात पुगेपछि पर्यटक सहजै पुग्छन् ।दृश्यावलोकन र विभिन्न परिकारको स्वादले तानेर पुगेका पर्यटक र आगन्तुक त्यहाँको सुन्दर परिवेशलाई त्यहीँ बसेर आफन्तलाई सुनाउन पाउँदैनन् । यसले पर्यटकीय क्षेत्रको प्रचारमा समेत अवरोध ल्याएको स्थानीयको बुझाइ छ । 


टेलिफोन नभए पनि पर्यटकीय क्षेत्रमा बिजुली पुगेपछि स्थानीय खुसी छन् । धेरै ठूलो प्रयासपछि गाउँमा बिजुली आएकामा खुसी लागेको स्थानीय युवा पारस मगरले बताए । ३५ देखि ४० घरधुरी रहेको यो गाउँ सिद्धिचरण राजमार्गको ओखलढुङ्गा-सोलु खण्डको बीचमा पर्छ ।


यहाँ मगर होमस्टेका घरेलु परिकार, बुङमा रोपिएको आलु, रेल्दुक (आलुको ढिँडो) र सेतो सिमीको स्वादल लिन आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । सदरमुकाम ओखलढुंगाबाट आधा घन्टामै पुगिने ठाडेबाट विभिन्न हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । थप १५ मिनेटको दूरीमा जन्तरधाप छ । त्यहाँबाट महालंगुर हिमशृंखला र सगरमाथाको नजिकैबाट दृश्यावलोकन गर्न सकिन्छ । सदरमुकाम आउने धेरैजसो स्थानीय ठाडे पुग्ने गर्छन् । 


मनमोहक पर्यटकीय गाउँमा टेलिफोन नटिप्दा भने खल्लो महसुस हुन्छ । यहाँ नेपाल टेलिकम र निजी क्षेत्रका कुनै पनि नेटवर्क नटिप्ने स्थानीय युवा पारस मगरको भनाइ छ ।  ‘यहाँ सबै सुविधा छ, टेलिफोन नटिप्दा पर्यटकलाई खुसीसाथ राख्न चुनौती छ’, मगरले भने ।  


यस क्षेत्रमा अब टेलिफोन सेवा पुगेदेखि पर्यटकीय गाउँको मुहार फेरिने स्थानीयको विश्वास छ । दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक विभिन्न परिकारको स्वाद लिन तथा गर्मी छल्न ठाडे पुग्ने गरेका छन् । उनीहरूलाई एक रात मात्र राख्न सके पर्यटन प्रवर्द्धनमा निकै ठूलो सहयोग पुग्ने स्थानीयको भनाइ छ । 


धेरै पर्यटक टेलिफोन नलाग्दा बास बस्ने सोलुको पत्तालेतर्फ लाग्ने गर्छन् । यसले जिल्लाको पर्यटन व्यवसायमा समेत घाटा पुर्‍याएको छ । ठाडे गाउँमा मात्र होइन, सिद्धिचरणको वडा- ६ भरि नै टेलिफोनको समस्या छ । यो वडालाई विद्युतीकरण गर्ने र संचार सुविधा पुर्‍याउने योजना रहेको नगरपालिकाले जनाए पनि तत्काल कार्यन्वयनमा ल्याउन स्थानीयको माग छ ।


जिल्लाभर १७ वटा टेलिफोन टावर निर्माणाधीन रहेकाले चाँडै सबै गाउँमा संचार सुविधा विस्तार हुने सांसद यज्ञराज सुनुवार बताउँछन् । टेलिफोन नभए पनि यसै वर्षबाट विद्युत् प्राधिकरणले ठाडे, जन्तरखानीलगायतका क्षेत्रमा ग्रामीण विद्युतीकरण सुरु गरिएको छ । सिद्धिचरण नगरपालिकाको समन्वयमा बिजुली जडान भएपछि गाउँ झिलिमिली भएको छ । 


सिद्धिचरण नगरपालिकाले पनि सबै वडामा विद्युत पुर्‍याउने नीति लिएको छ । प्राकृतिक हिसाबले सुन्दर र हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई होमस्टे गाउँका रूपमा पनि विकास गर्दै पर्यटकीय गाउँ बनाउन सकिने सिद्धिचरणका नगरप्रमुख मोहन श्रेष्ठले बताए । नगरपालिकाले यस क्षेत्रलाई प्रथामिकतामा राखेको श्रेष्ठको भनाइ छ ।