close

२६२ वर्षअघि भएकाे युद्धको सम्झनामा पार्क बनाउँदै कीर्तिपुर

२६२ वर्षअघि भएकाे युद्धको सम्झनामा पार्क बनाउँदै कीर्तिपुर

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौंको कीर्तिपुर नगरपालिकामा ‘युद्ध स्मारक पार्क’ निर्माण हुने भएको छ । गोर्खाली र कीर्तिपुरे फौजबीच १८१४ सालदेखि १८२२ सालसम्म तीन पटक युद्ध भएको ऐतिहासिक स्थान कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण गर्न लागिएको हो ।


काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा करिब २६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी कीर्तिपुर नगरपालिकाले करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो । अहिले पार्क निर्माणको काम धमाधम भइरहेको छ ।


नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटकपटक आक्रमण गरेको इतिहास छ । ‘ढाल र तरबारसहित पृथ्वीनारायण शाह, कालु पाँडेसहितका गोर्खाली सेनाले कीर्तिपुरमाथि तीन पटक आक्रमण गरे, घमासान युद्ध भयो । त्यही युद्ध कीर्तिपुरवासीका लागि गर्विलो इतिहास बन्यो’, कीर्तिपुर नागरपालिकाका नगरप्रमुख रमेश महर्जनले भने, ‘यो युद्ध पार्कमा इतिहास मात्र होइन, नेवारी कला र संस्कृति झल्काउने मूर्ति र संग्रहालय पनि निर्माण गर्ने योजना छ ।’ 


नगरप्रमुख महर्जनले युद्धको झल्को दिने गरी युद्ध स्मारक पार्कमा मूर्त-अमूर्त स्मारकहरू राख्ने जानकारी दिए । उनका अनुसार अहिले त्यसका लागि ३० भन्दा बढी त्यस्ता मूर्ति र स्मारक निर्माण भइसकेका छन् ।


इतिहासअनुसार पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्डर भई गोर्खा राज्यका तर्फबाट करिब एक हजार २०० सैनिकले कीर्तिपुरमाथि आक्रमण गरेका थिए । तर, दुई पटकको प्रयासलाई कीर्तिपुरका करिब ३०० सेनाले प्रतिकार गरेका थिए । 


‘त्यही युद्धमा गोर्खाली सेनाका कालु पाँडे मारिएका थिए भने पृथ्वीनारायण शाह पनि कीर्तिपुरे फौजको कब्जामा परेका थिए’, गोर्खाली फौजबाट त्यही युद्धमा कब्जा गरी बाघभैरव मन्दिरमा सबैले देख्ने गरी राखिएका ढाल, तरबार देखाउँदै नगरप्रमुख महर्जनले भने, ‘पहिला कीर्तिपुर कृषिमा आधारित थियो । घरेलु उत्पादनमा प्रख्याती कमाएको थियो । शहरीकरणसँगै अब कीर्तिपुरको त्यो पहिचान हरायो ।’ 


महर्जनले इतिहासको जगेर्ना गर्दै पर्यटन व्यवसायका रूपमा जोड्ने योजनासहित नगरपालिका अघि बढेको बताए । ‘युद्ध स्मारक पार्क’मार्फत कीर्तिपुरको इतिहास जीवन्त बनाउने योजना बनाएका छौँ ।’


केही दिनअघि मात्र काठमाडौं महानगरपालिकाकै आर्थिक सहयोगमा निर्माणाधीन तारकेश्वर धामको अनुगमन गरेका थिए । उनले आगामी बजेटमा पनि थप सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । 


‘काठमाडौं महानगरपालिका आफू मात्र होइन, छिमेकी नगरसँग पनि साझेदारी गरी अघि बढ्नुपर्छ भन्ने योजनामा छ’, शाक्यले भने, ‘हरियाली विकास, खुला क्षेत्रको संरक्षण, संस्कृति सम्पदाको संरक्षण र ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानको विकास जस्ता परियोजनामा हामीले सहयोग गर्दै आएका छौँ ।’ 


उनले काठमाडौंका १० वटा र मध्यपुर ठिमी नगरपालिकालाई यस्ता परियोजनाका लागि सहयोग गरेको पनि बताए ।    


कीर्तिपुरका तीनवटा वडा- १, २ र १० लाई समेटेर पहिलो चरणमा १४ रोपनी र विस्तारै पूरै ५४ रोपनीमै पार्क निर्माण गर्ने नगरपालिकाको योजना छ ।  वडा नं.- २ का अध्यक्ष रमेशमान डंगोलले गोर्खाली र कीर्तिपुरे फौजबीच तीन पटक युद्ध भएको र त्यही बाघभैरव आसपासको ढिस्को चढ्न नसकेर पृथ्वीनारायण शाहले दुई पटकसम्म कीर्तिपुरसँग हार्नुपरेको इतिहासको झल्को दिने गरी पार्क निर्माणको काम अघि बढाएको जानकारी दिए । 


उनले पार्क बन्ने यस ढिस्कोमै ठूलो पर्खाल, गढ र किल्लासमेत निर्माण भइरहेको पनि बताए । ‘१८२१ सालको भदौमा शूरप्रताप शाह, दलजित शाह र श्रीहर्ष पन्तको नेतृत्वमा कीर्तिपुरमाथि दोस्रो आक्रमण भयो ।

 

त्यस आक्रमणमा कीर्तिपुरे फौजले गोर्खाली सैनिकका कमान्डर (पृथ्वीनारायण शाहका भाई) शूरप्रताप शाहको आँखा फुटाएको इतिहास छ । शूरप्रतापको आँखा फुट्नुका साथै अन्य केही फौज त्यस पटक पनि फर्कन बाध्य भएका थिए’,  डंगोलले भने । 


त्यही इतिहासअनुसार पार्कमा कालु पाँडे र शूरप्रतापहरूको सम्झनामा स्मारकसमेत निर्माण गर्ने तयारी छ । उनले युद्धसँग सम्बन्धित मूर्तिका साथै सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्वलाई झल्काउने सामग्री राख्ने र पार्कमा संग्रहालयसमेत बनाउने योजना नगरपालिकाको रहेको पनि जानकारी दिए ।